बाँकेलाई औलोरहित जिल्ला बनाउने तयारी

बाँके । बाँकेलाई औलोरहित जिल्ला बनाउनको लागि आवश्यक तयारी तीव्र रुपले अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन् २०२५ सम्ममा नेपालबाटै औलो उन्मुलन गर्ने तयारी भए पनि बाँकेको खासगरी नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा औलोका बिरामी देखापरेपछि सम्बन्धित पालिका र स्वास्थ्य कार्यालय बाँकेले आवश्यक तयारी अघि बढाएको छ ।

बाँकेको नरैनापुरमा सबैभन्दा बढी केस देखापरेपछि स्थानीय पालिकाले त्यसको निगरानी राख्नुको साथै उपचारसँगै जनचेतनाको लागि पहल गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए । उनले भारतको महाराष्ट्रमा रोजगारी गर्न जानेहरू उतैबाट संक्रमित भएर आउने गरेको कारण नरैनापुरमा संक्रमित संख्या बढी देखिएको बताए ।

उनले चालु आर्थिक वर्षको चैत्रसम्ममा नरैनापुरका ४२ जनामा औलोको संक्रमण देखिएको बताए । उनले पालिकाले सचेतनाको लागि विभिन्न कार्य गर्दै आएको साथै झुल वितरण गर्ने, लामखुट्टेको लार्भा मार्नको लागि विषादी छर्ने जस्ता कार्य भएको बताए ।औलोबाट बाँकेको नरैनापुरको वडा नं २ र ३ मा सबै भन्दा बढी संक्रमित पाइएको छ । आर्थिक वर्ष २०७५र०७६ मा ६१ जना, ०७६र०७७ मा ५६, ०७७र०७८ मा ४२ र चालु आर्थिक वर्षको २१ चैतसम्मको ८० वटा केस रिर्पोटिङ भएका छन् ।