२०८२ कात्तिक २९ , शनिबार

प्रधानमन्त्री ओलीद्वारा बुवाआमा विहीन बालबालिकासँग भेट, सुरक्षित पुनःस्थापनाको प्रतिबद्धता




सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, टाटागाउँमा गत असार १८ गते भएको पारिवारिक घटनापछि बुवाआमा विहीन बनेका तीनजना बालबालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेका छन्।

गत आइतबार ती बालबालिकासहित अभिभावकलाई काठमाडौं ल्याएर प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गराइएको थियो।

बुधबार प्रधानमन्त्री ओलीले ती बालबालिकाको पुनःस्थापनाका लागि सुरक्षित वातावरणमा राख्ने प्रतिबद्धता जनाउँदै भेट गरेका हुन्।

कर्णाली प्रदेशसभा सदस्य तुलसा मल्लमार्फत घटनाको सम्पूर्ण जानकारी पाएका प्रधानमन्त्री ओलीले बालबालिकाको अवस्थालाई संवेदनशील रूपमा लिँदै उनीहरूलाई अभिभावकसहित काठमाडौं बोलाएका थिए।

प्रधानमन्त्री ओलीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रिय बाल अधिकार परिषदको समन्वयमा बालबालिकालाई सुरक्षित, संस्कार–संस्कृतिसँग मेल खाने र माया–ममतापूर्ण वातावरणमा हुर्कन सक्ने बालगृहमा राख्न निर्देशन दिएका छन्।

हुम्लाको खार्पुनाथस्थित चुवा खोलामा नवनिर्मित बेलीब्रिज उद्घाटनका क्रममा सुर्खेत आएकै बेला सदस्य मल्लले ती बालबालिकाको शिक्षा र लालनपालनको विषयमा प्रधानमन्त्रीसँग छलफल गरेकी थिइन्।

प्रधानमन्त्रीले काठमाडौं फर्किएपछि मल्ललाई फोन गरेर बालबालिकालाई काठमाडौं ल्याउन आग्रह गरेको मल्लले जानकारी दिइन्।

हाल बालगृहको छनोट प्रक्रिया जारी रहेको र कुन बालगृह उपयुक्त हुन्छ भन्ने विषयमा खोज भइरहेको उनले बताइन्।

`सरकारले नै बुझेर उत्कृष्ट बालगृहमा राख्ने कुरा भइरहेको छ मल्लले भनिन्,` कर्णालीमै रहेको एसओएस हर्मन माइनर स्कुलमा राख्ने पनि कुरा चलिरहेको छ, तर पक्का भएको छैन।`

बालबालिकाको मानसिक अवस्था, संस्कार, शिक्षा र सामाजिक पहिचानलाई ध्यानमा राख्दै उपयुक्त संस्था छनोटको प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिइन्।

अहिले आवश्यक कागजात संकलनको काम भइरहेको र अभिभावकको चाहनाअनुसार बालबालिकालाई भविष्यमा मानसिक तनाव, सामाजिक दूरी वा असहजता अनुभव गर्न नपर्ने स्थानको खोज भइरहेको मल्लको भनाइ छ।

प्रधानमन्त्री ओलीले समय–समयमा बालबालिकासँग भेटघाट गर्न सकिने वातावरण मिलाउनसमेत निर्देशन दिएका छन्।

विभत्स घटना आफ्नै श्रीमतीको खुकुरी प्रहारबाट हत्या

गत असार १८ गते राति चौरजहारी नगरपालिका–३, टाटागाउँमा ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी श्रीमती ३० वर्षीया देविका बुढाथोकीको विभत्स ढंगले हत्या गरेका थिए। रातिको खाना खाइसकेपछि सामान्य भनाभनले उग्र रुप लिएर झगडामा परिणत भएपछि चन्द्रबहादुरले खुकुरी निकालेर श्रीमतीमाथि आक्रमण गरेका थिए।

आफ्ना बाबुआमाबीचको झगडाबाट आत्तिएका छोराछोरीको चिच्याहटबीच देविका ज्यान बचाउन घरबाट निस्किएर भागिन्। तर चन्द्रबहादुरले खेतसम्म पछ्याउँदै गए। करिब २५ मिटर टाढाको खेतमा पुगेर उनले खुकुरी प्रहार गर्न थाले। देविकाले बचाउने प्रयास गर्दै हात अघि राख्दा उनका दुबै हात काटिए। एक हात त टुक्रिएर छुट्टिएको थियो। त्यसपछि चन्द्रबहादुरले उनको घाँटीमा खुकुरी चलाए। घटनास्थलमै देविकाको ज्यान गयो।

हत्या गरेपछि चन्द्रबहादुर आफैँ चार किलोमिटर टाढाको इलाका प्रहरी कार्यालयमा पुगेर रक्ताम्य अवस्थामा खुकुरी देखाउँदै आत्मसमर्पण गरेका थिए। श्रीमतीलाई खुकुरीले हानेर मारेँ,` भन्दै उनी प्रहरीसमक्ष प्रस्तुत भएका थिए।

उक्त घटनापछि उनीहरूको दुई छोरी र एक छोरा आमा बुवाविना अलपत्र परेका थिए।

प्रकाशित मिति : २०८२ साउन १४ गते बुधबार