१ वर्ष देखि रातापानीमा रहेको खाद्य बिक्री केन्द्र रित्तै, खत्याडबासी समस्यामा

मुगु । मुगुको खत्याड गाउँपालिकाको रातापानीमा रहेको खाद्य बिक्री केन्द्र १ वर्षदेखि रित्तै रहेको छ ।

नेपाल खाद्य संस्थान रातापानी बिक्री केन्द्रको ढुवानीको जिम्मा पाएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका रमेश बरालमार्फत सञ्चालनमा रहेको बराल ढुवानी सेवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको १ वर्ष बितिसक्दा पनि हालसम्म खाद्यान्न नपु¥याउँदा बिक्रिकेन्द्र १ वर्षदेखि रित्तो अवस्थामा रहेको छ ।

कम्पनीले समयमै खाद्यान्न नपु¥याउँदा उपभोक्ताले सास्ती खेप्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुले जनाएको छ । कार्यालयका अनुसार ठेक्का पाएको बराल कन्स्ट्रक्सनलाई पटक–पटक चिठी काट्दासमेत अटेर गरेको शाखाका सूचना अधिकारी पुष्कर भामले बताए । अहिले १ वर्षसम्म खाद्यान्न नपु¥याउने ठेकेदारलाई विभागले कुनै कारबाही गर्न सकेको छैन ।

गत असोजमा सम्झौता भई आर्थिक वर्ष २०७७÷७८ मसान्तसम्म सम्झौताबमोजिम ठेकेदारले ७ सय ५० क्विन्टल चामल बिक्री केन्द्रमा पु¥याउनुपर्ने हो । तर, हालसम्म नपु¥याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।