देशभरको मौसम बद्ली रहने, धेरै ठाउँमा पानी पर्ने

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज दिनभरि नै देशभरको मौसम पूर्ण बद्ली रहने छ ।

आज धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा राति ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।