कर्णाली प्रदेशको आफ्नै प्रयोगशाला संचालनमा

सुर्खेत । कर्णाली प्रदेशमा आफ्नै प्रयोशाला नहुँदा विभिन्न समस्या व्यहोर्नुपर्ने परेको थियो । पसले गर्दा जुनसुकै रोगको परिक्षण गर्न प्रदेश बाहिर पठाउनु पर्ने बाध्यता थियो । तर शुक्रवार देखि प्रदेशले आफ्नै प्रयोगशाला संचालनमा ल्याएको छ । अब भने, परिक्षणका लागि सहज हुने भएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री टेकराज पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् । मन्त्री पछाईले प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई थप उपकरणयुक्त बनाई गुणस्तरीय सेवा प्रदान गराउन पहल गरिने बताएका छन् । उनले, ‘प्रयोगशाला संचालनमा आएपछि प्रदेशभित्रै परीक्षण तथा अनुसन्धान गर्न सहयोग पुग्ने भन्दै प्रयोगशालालाई अन्वेषण केन्द्रको रुपमा पनि विकसित गर्ने जानकारी दिए ।

प्रयोगशाका निर्देशक वृषबहादुर शाहीले यहाँबाट जनस्वास्थ्य सम्वन्धी रोगको छिटो पहिचान गरी रोग नियन्त्रणमा सघाउने बताए । उनले भने, ‘अव अन्य प्रदेशमा परीक्षण हुन नसकेको काम पनि यही प्रयोगशालाबाट हुने उल्लेख गरे ।

प्रयोगशालामा नौ जना प्राविधिकहरुको दरवन्दी भएपनि हाल तीन जना मात्रै पूर्ति भएको छ । अन्य गरी कूल १६ जना जनशक्ति छन् । प्रयोगशालाका ल्याब टेक्निसियन एवं सूचना अधिकारी घनश्याम गिरीले प्रयोगशालामा नसर्ने रोग, संक्रामक रोग, गुणस्तर नियन्त्रण तथा तालिम र आर्थिक प्रशासनको काम हुने बताए ।

प्रयोगशालाबाट निदात्मक, अनुसन्धानमूलक र अनुगमनको काम गरिने उल्लेख गरे । दुर्गम तथा पिछडिएको क्षेत्रको जनतामा विश्वसनीय सेवाको पहुँच बढाउन, आफ्नै ठाउँमा सेवा दिएपछि रकम बचत हुने र समयमै रोग पत्ता लागेपछि औषधिको अनुचित प्रयोग रोक्न प्रयोगशालाको कामले सहयोग पुग्ने गिरीले बताए ।

उक्त प्रयोगशालामा अन्यत्र भएका झण्डै आधा रकममा रगत, दिसा पिसाव, खकारलगायतको परीक्षण हुने जनाइएको छ । सो अवसरमा निवर्तमान मन्त्री यज्ञबहादुर वुढाक्षेत्री र सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारले प्रयोगशालाको स्तरोन्नतिमा ध्यान दिइने बताए ।