इन्टरनेट सेवाले काम नगर्दा भुक्तानी दिन हुम्लाका बैंकलाई समस्या

हुम्ला । सामाजिक सुरक्षा भत्ताको भुक्तानी दिने जिम्मा पाएको हुम्लाको सांग्रिला विकास बैंकलाई भुक्तानी दिन सास्ती भएको छ । बैंकमा जडान गरिएका टेलिकमको एडिएसएल र वल्र्ड लिंकको इन्टरनेट सेवाले काम नगर्दा भुक्तानी दिन समस्या भएको हो ।

असार २० गते अगाडि सिमकोट गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको साँग्रीला बैंकमा रहेको खातामा निकासा दिएको भएपनि हालसम्म भत्ता निकाल्न नपाएको गुनासो गरेका छन् ।

हातैमा दिएको भए यतिबेलै पाउने बताउँदै सेवाग्राही जानकी शाहीले बैंकिङ प्रर्णालीबाट हाल्ने प्रकिृयाको कारण हालसम्म नपाएको बताइन् । उनी मात्र होइन सिमकोट गाउँगालिकाका अधिकांश सेवाग्राहीले आफ्नो सामाजिक सुरक्षाको पाउन सकेका छैनन् ।

सो बैंकका प्रवन्धक चन्द्रप्रसाद लम्सालले बैंकमा जडान गरेका टेलिकमको एडिएसएल र वर्डलिंकको इन्टरनेट सेवाले काम नगर्दा सामाजिक सुरक्षाको भत्ता लिने सेवाग्राहीलाई दिन कठिन भएको बताए ।