हुम्लामा हिमपात हुँदा जनजीवन प्रभावित

हुम्ला । हुम्लामा सोमबार बिहानैबाट हिमपात भइरहेको छ । बिहानै देखि हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हिमपात भएको हो । आज सोमबार केही स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले आँकलन गरेको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम निकै घटेको छ । सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको छ । हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो बढेको छ ।