जुम्लाकी धावक सुनमाया बुढालाई कर्णाली सरकारले गर्याे सम्मान

सुर्खेत । थाइल्याण्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगीतामा महिलातर्फ प्रथम भएकी जुम्लाकी धावक सुनमाया बुढालाई सोमबार (आज) कर्णाली प्रदेश सरकारले स्वागत तथा सम्मान गरेको छ ।

११० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगीतामा २ हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम भएकी सुनमायालाई मुख्यमन्त्री जीवनबहादुर शाहीले स्वागत गरेका हुन् ।

मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले “कर्णालीमा सयौं सुनमायाहरु रहेको बताउँदै उनीहरुको पहिचान गर्ने गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए; ।

मुख्यमन्त्री शाहीले खेल क्षेत्रको विकासका लागि कर्णाली प्रदेश सरकारले महत्वपूर्ण कामहरु गरिरहेको बताए । उनले कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको बताउँदै नेपालमै पहिलो पटक कर्णालीमा भलिवल कवर्डहल निर्माण पनि सुरु भएको जानकारी दिए ।

मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए । प्रदेश सरकारले सुनमायालाई २ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरिसकेको छ ।