काठमाडौं । म्यादी प्रहरी भर्ना सम्बन्धी सामाजिक सञ्जालमा भ्रमपूर्ण सूचना फैलिएको पाइएको छ । केही दिनदेखि फेसबुक लगायतका सामाजिक सञ्जालमा प्रहरी प्रधान कार्यालयको नाम दुरूपयोग गरी एक लाख १८ हजार म्यादी प्रहरी माग भएको भन्दै भ्रामक सूचना फैलिएको हो ।
स्थानीय तह निर्वाचन-२०७९ का लागि सुरक्षार्थ आवश्यक पर्ने म्यादी प्रहरीका लागि भर्ना खुलेको भन्दै सामाजिक सञ्जालमा नक्कली सूचना राखिएको पाइएकाले यसबाट सतर्क हुन प्रहरीले आग्रह गरेको छ ।
बिहीवार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले हालसम्म आधिकारिक रूपमा म्यादी प्रहरीबारे कुनै पनि सूचना प्रकाशितरप्रसारित नगरिएको जानकारी गराएको छ ।
‘आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चारमाध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं,’ सूचनामा भनिएको छ ।
ए.के. सञ्चार । २७ फाल्गुन २०७८, शुक्रबार ०८:४१