निःशुल्क प्याड वितरणले किशोरी खुसी

सुर्खेत । महिनावारीका समयमा फोहोर र लगाउन नमिल्ने झुत्रो कपडाको जोहो गर्थिन् वीरेन्द्रनगर १२ की मुना गौतमले । फोहोर र लगाउन नमिल्ने कपडालाई सानो सानो टुक्रा बनाई महिनावारीको समयमा प्रयोग गर्ने गरेको उनले बताइन् । ‘छुई (महिनावारी) भएको बेला कुनामा फालेको टाला (कपडा) लगाउने गर्थ्यौँ’ गौतमले भनिन्, ‘त्यो पनि घाम पर्ने ठाउँमा सुकाउन हुँदैन भनेर घाम नपर्ने र कसैले नदेख्ने ठाउँमा सुकाउनुपर्थ्यो । एक पटक धोएर राखेको र राम्रो सँग नसुकेको कपडा लगाउँथ्यौँ ।’

महिनावारीको समयमा पुराना कपडालाई प्याडको रुपमा प्रयोग गर्दै आएकी मुना आजभोलि नियमित रुपमा सेनेटरी प्याड प्रयोग गर्न थालेकी छन् । ‘स्वास्थ्य चौकीबाट प्रत्येक महिना प्याड लैजाने गरेकी छु’ जमुनाले भनिन्, ‘प्याड प्रयोग गर्न थालेपछि यही सजिलो लाग्ने रहेछ ।’

महिनावारीको समयमा सफा कपडा प्रयोग गर्नुपर्छ भन्ने विषयमा उनलाई जानकारी थिएन । त्यतिमात्र होइन महिनावारीका विषयमा खुलेर बाहिर कुराकानी गर्न सक्दैनथिन् । महिनावारीलाई धार्मिक रुपमा मात्र बुझ्दै आएकी उनले सरसफाईका रुपमा पनि बुझ्न थालेकी छन् । भन्छिन्, ‘यस्तो बेलामा सरसफाईमा ध्यान दिनुपर्ने रहेछ । छोरीहरूलाई पनि बारम्बार यस्तै भन्ने गरेकी छु ।’

महिनावारी हुँदा कुनामा राखिएका झुत्रा र फोहोर कपडालाई प्याडको रुपमा प्रयोग गर्ने चलन छ । कसैले नदेख्ने र नछुने ठाउँमा राख्ने र राम्रोसँग सफा नगरी र घाममा नसुकाएरै राखेको कपडा अर्को महिनावारीका बेलामा लगाउने गरिन्छ । कतिपय ग्रामीण बस्तीहरूमा यस्तै प्रचलन छ । तर, वीरेन्द्रनगरका महिलाले भने पछिल्लो समय महिनावारीका समयमा प्रयोग गर्दै आएका झुत्रा र फोहोर कपडा त्यागेर सेनेटरी प्याड प्रयोग गर्न थालेका छन् ।

सोही गाउँकी तुल्सी खत्री घर नजिकै रहेको स्वास्थ्यचौकीबाट नियमित रुपमा सेनेटरी प्याड लैजाने गर्छिन् । तुल्सीले हरेक महिनामा स्वास्थ्यचौकीमा आएर प्याड लैजाँदै आएकी छिन् । कोरोना माहामारीका कारण भएको लकडाउनका समयमा पनि स्वस्थ्य चौकीबाट प्याड पाउँदा उनी खुसी छिन् । ‘पहिला पुराना कपडालाई प्याडको रुपमा लगाउने गर्थे । पोहोर सालबाट स्वास्थ्यचौकीमा आएर प्याड लैजान थालेकी छु’ तुल्सीले भनिन्, ‘बाहिर सरेको बेलामा (महिनावारी) कपडा भन्दा सेनेटरी प्याड प्रयोग गर्न थालेपछि सजिलो भएको छ ।’

उनलाई महिनावारीको बेलामा सफा प्याड प्रयोग गर्नुपर्छ भन्ने विषयमा जानकारी भएपनि महिनापिच्छे प्याड किन्नलाई पैसा हुँदैनथ्यो । ‘बुवासँग प्याड किन्छु पैसा दिनुहोस् भन्न पनि नसकिने र पढ्ने विद्यार्थी भएकाले आफूसँग पैसा पनि नहुने’ उनले भनिन्, ‘हरेक महिना स्वास्थ्य संस्थामा आएर प्याड लैजाने गरेकी छु ।’

लकडाउनका बेलामा पनि स्वास्थ्यचौकीबाट निःशुल्क प्याड पाएकोमा खुशी व्यक्त गर्छिन् वीरेन्द्रनगरकी पवित्रा चौलागाई । ‘पहिले पुरानै कपडालाई प्रयोग गर्दै आएका थियौँ’ उनले भनिन्, ‘स्वास्थ्य चौकीबाट निशुल्क प्याड दिन थालेपछि हामीलाई लकडाउनका बेलामा पनि सजिलो भएको छ ।’ त्यतिमात्र होइन उनले प्याड लिन स्वास्थ्यचौकी आएको बेलामा स्वास्थ्य जाँच पनि गराउने गरेकी छन् ।

गत वर्षदेखि वीरेन्द्रनगर नगरपालिकाले निःशुल्क सेनेटरी प्याड वितरण गरेपछि महिला र किशोरी खुशी भएका छन् ।
महिनावारीको बेलामा पुराना कपडालाई प्याडको रुपमा प्रयोग गर्दै आएका नगरका महिला र किशोरीहरू आजभोलि निःशुल्क रुपमा प्याड पाउँदै आएका छन् । प्याड लिन आउने महिलाहरू नियमित रुपमा आफ्नो स्वास्थ्य जाँच गराउँदा उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव परेको अहेब जमुना भण्डारी बताइन् ।

नगरपालिकाले निःशुल्क प्याड वितरण कार्यक्रमले महिलामा महिनावारीको सचेतनाका साथै स्वास्थ्यप्रति सजगता अपनाउन थालेको देखिएको उनले बताइन् । विरलै मात्रामा स्वास्थ्यचौकी जाने महिलाहरू कम्तीमा प्रत्येक महिना प्याड लिन आएको बेलामा सवस्थ्य जाँच गराएर जान थालेका छन् ।
‘पहिला बिरामी भएपछि मात्र अस्पताल आउने महिलाहरू आजभोलि अन्य बेलामा पनि स्वास्थ्य जाँच गराउने गरेका छन्’ अहेब जमुना भन्छिन्, ‘स्वास्थ्यचौकीमा आएको बेलामा आफ्ना प्रजनन् स्वास्थ्यका विषयमा पनि जानकारी लिने गरेका छन् ।’

यता वीरेन्द्रनगर वडा नम्वर १२ का वडा अध्यक्ष चुडामणि चपाईले प्याड वितरणले महिनावारी स्वच्छतामा सकारात्मक प्रभाव पारेको बताए । निःशुल्क प्याड वितरणको कार्यक्रमले सरसफाईमा ध्यान दिन’पर्छ भन्ने चेतनाको विकास गराएको उनको भनाई थियो ।

महिनावारी स्वच्छता कार्यक्रमलाई प्रभावकारी बनाउन निःशुल्क रुपमा प्याड वितरण गर्दै आएको नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् । प्याड वितरणसँगै महिनावारी स्वच्छताका विषयमा सचेतना गराउने उद्देश्यले कार्यक्रम सुरुवात गरिएको उनले बताइन् । ‘महिनावारीको विषयमा जोडिएको नकारात्मक धारणा हटाउनुका साथै स्वच्छ महिनावारी हुनुपर्छ भन्ने सचेतना गराउनु कार्यक्रमको उद्देश्य हो’ ढकाल भन्छिन्, ‘प्रायः महिला स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी जाने प्रचलन छैन । त्यसैले स्वास्थ्यचौकीमार्फत प्याड वितरण गर्दा उनीहरू स्वास्थ्यचौकीमा जाने र स्वास्थ्य जाँच गराउन सक्छन् भनेर यो कार्यक्रम ल्याएका हौँ ।’

अब हरेक माध्यामिक विद्यालयमा किशोरी समूह गठन गरेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रमुख ढकालले बताइन् । नगरका सबै विद्यालयमा प्याड उत्पादन गर्ने मेसिनको व्यवस्था गर्ने तयारी गरेको ढकालले बताइन् । ‘मेसिनको व्यवस्था भएमा किशोरीहरू महिनावारीको बेलामा प्याडको लागि आफैले निकाल्न सक्छन्छ’ उनले भनिन् ।

नगरपालिकाको आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रम र बजेटबाट निःशुल्क प्याड उपलब्ध गराउँदै आएको छ । महिलाहरूको स्वास्थ्य ध्यानमा राखेर प्याड वितरण गर्ने कार्यक्रम राखेको उपप्रमुख ढकालले बताइन् । वीरेन्द्रनगर नगरपालिकाका १६ वटा वडामा रहेका स्वास्थ्य संस्थाबाट प्याड उपलब्ध गराइँदै आएको छ । यसका लागि नगरपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘स्वास्थ्य संस्थामा प्रत्येक महिना प्याड लिन जाँदा महिलाको स्वास्थ्य जाँच पनि हुन्छ,’ उपप्रमुख ढकालले भनिन्, ‘यसले गर्दा आफ्नो स्वास्थ्यको हेरचाह गर्ने बानी बस्छ ।’

सुत्केरी अवस्थाका महिलालाई पनि यसले मद्दत पु¥याउने उपप्रमुख ढकालको भनाई छ । महिनावारी स्वाच्छताका विषयमा नगरका स्वास्थ्य स्वयंसेविकाहरूले सचेतना गराउनुका साथै प्याड प्रयोगको विषयमा पनि जानकारी दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले हाल १८ वटा स्वास्थ्य संस्थाबाट सेनेटरी प्याड वितरण गर्ने गरेको छ । नगरका स्वास्थ्य शाखा प्रमुख पर्शुराम खड्काले हालसम्म १७ हजार बढी महिलाले उक्त सेवा लिएका छन् ।

वीरेन्द्रनगरस्थित नगर अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज सीता आचार्यले प्याड वितरणपछि महिलामा महिनावारीको समयमा सरसफाईमा ध्यान दिनुपर्ने कुराको विकास भएको बताइन् ।

स्वास्थ्य संस्थाबाट प्याड वितरण गर्न थालेपछि महिलाहरूलाई सहज भएको उनको भनाई छ । ‘महिनावारीका बेलामा सबैभन्दा बढी फोहोर भएका कपडा लगाउने र जसको कारण विभिन्न इन्फेक्सन भई पाठेघर क्यान्सरसम्म हुने गरेको थियो’ उनले भनिन्, ‘यो समस्या कम हुँदै गएको देखिएको छ ।’

महिनावारी स्च्छताको अभियन्तासमेत रहेकी शर्माले पछिल्लो समय महिनावारीलाई धार्मिक मात्र नभई सरसफाईका हिसाबले पनि लिने गरेको बताइन् । त्यसैगरी महिनावारीको समयमा घरबाहिर अलैग्गै बस्ने चलन हटेर घरभित्र रहन थालेको उनको भनाई छ । उनी भन्छिन्, ‘विस्तारै कुप्रथा हट्दै गएको छ ।’