कर्णालीका स्याउ किसानले पाए क्षतिपूर्ति रकम

जुम्ला । कर्णालीका जुम्ला सहित अन्य जिल्लाका स्याउ किसानले क्षतिपूर्ति रकम पाएका छन् । स्याउ बिमा गरेका कर्णालीका किसानले बिमा बापतको क्षतिपूर्ति पाएका छन् । गएको वैशाख जेठमा परेको असिना पानी र खडेरीका कारण स्याउ नष्ट भएपछि किसानले स्याउ बिमा गरेका थिए ।

जसअन्तरर्गत कर्णालीका ३ हजार ४ सय ६८ जना बिमित किसानले ७ करोड २५ लाख बराबरको क्षतिपूर्ति रकम पाएका हुन् । जसमा जुम्लाका मात्रै एक हजार ४ सय २० जना स्याउ किसानलाई शिखर इन्स्योरेन्स कम्पनी जुम्लाबाट २ करोड ७८ लाख बरारको बिमा दाबी रकम उपलब्ध गराइएकोे छ ।

अन्य कर्णालीका मुगु, कालिकोट, डोल्पालगायतका २ हजार ४८ जना किसानले बिमा बापतको ४ करोड ४७ लाख दाबी रकम भुक्तानी दिइएको शिखर इन्सोरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख ऋषिराम पाण्डेले बताए ।

मौसमी स्याउ बिमा गरेमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध दिने गरेको शिखर बिमा कम्पनी जुम्लाले जनाएको छ ।

प्रमुख ऋषिराम पाण्डेका अनुसार कर्णालीमा २०७२ सालदेखि स्याउ बिमा कार्यक्रम सुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बिमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बिमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् ।

स्याउ खेती विस्तार गर्न, उत्पादन वृद्धिका साथै प्राकृतिक प्रकोपबाट किसानले व्यहोर्नुपर्ने घाटा बापतको क्षतिपूर्ति रकम दिनका लागि स्याउ बिमा सुरु गरिएको शिखर इन्सोरेन्स जुम्लाले जनाएको छ ।