अछामको ढकारीमा चक्कु प्रहारबाट चार जना घाइते

काठमाडौं । अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका–१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएको हो ।स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ ।

स्थानीयको बिहे भोजमा मदिरा सेवनपछि दुई समूहबीच ढुंगा हानहानको भएको थियो । यही अवस्थामा तपेन्द्र बुढाको समूहले चक्कु प्रहार गरेको प्रहरीको भनाइछ । तपेन्द्र प्रहरी नियन्त्रणमा छन्। अन्य फरार रहेका छन् ।चक्कु प्रहार गरी घाइते भएकाहरुको स्वास्थ्य चौकी ढकारीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । मानबहादुरको टाउको र ढाडमा चोट लागेको छ भने हिक्मतबहादुर टाउको र हातखुट्टामा चोट लागेको छ ।उनीहरुको अवस्था गम्भीर छ ।तुलसी बुढाको टाउकोमा र खगेन्द्र बुढाको हात(खुट्टामा चोट लागेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।