कोरोनाभाइरस प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने

काठमाडौं । सरकारले कोरोनाभाइरस प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ ।

कोरोना संक्रमणले ९ हजार भन्दा बढीले ज्यान गुमाईसकेपछि बल्ल सरकारले जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो । नेपालमा हालसम्म ६ लाख ८७ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी ९ हजार २ सय ६३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोना संक्रमण दुई पटक उत्कर्षमा पुग्दासमेत केही गर्न नसकेको स्वास्थ्य मन्त्रालयले अब भने देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भएको हो ।

कोभिड-१९ प्रतिकार्यका लागि सरकारले देशका कुल ७५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्नेछ ।

११ वटा उप-महानगरपालिकामा ३/३ जनाका दरले निरीक्षक रहनेछन् भने २ सय ७६ नगरपालिकामा २/२ निरीक्षकलाई खटाइने कार्यविधिमा उल्लेख छ । यस्तै ४ सय ६० गाउँपालिकामा १/१ जना सातौँ तहका जनस्वास्थ्य अधिकृत खटाइने भएको छ ।