नेपालमा लगातार दोस्रो दिन ७ हजारभन्दा कममा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौ । नेपालमा लगातार दोस्रोदिन ७ हजारभन्दा कममा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २० हजार ९ सय ९२ कोरोना परीक्षण गर्दा ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २० हजार ४ सय १४ आरटी पिसिआर परीक्षण गर्दा ६ हजार ७ सय ३१ र ५ सय ७८ एन्टीजेन परीक्षण गर्दा २ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ । यस्तै नेपालमा पछिल्लो समय कोरोना सङ्क्रमण थपिनेको तुलनामा निको हुने दर सुधार हुँदै गएको छ । गत २४ घन्टामा देशभर ७ हजार २ सय २६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या ४ लाख १८ हजार ८ सय २९ पुगेको छ । यो दर कुल सङ्क्रमितको ७७ दशमलव २ प्रतिशत हो । यस्तै गत २४ घन्टामा थप १ सय ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको छ । हाल नेपालभर सक्रिय सङ्क्रमितको संख्या १ लाख १६ हजार ४ सय ७६ रहेको छ ।