काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । भट्ट पक्षका कानुन ब्यवसायीबाट सुनुवाइ स्थगित भएको हो । रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो ।
उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा -माओवादी केन्द्र-का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । १८ साउन २०७८ मा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको थियो । विपक्षीहरूको नाममा कारण देखाउ आदेश भने जारी भएको थियो ।
२४ चैत २०७७ मा सङ्घीय संसद् सचिवालयलाई पत्र लेखेर माओवादी अध्यक्ष प्रचण्डले भट्टसहित सांसदहरू टोपबहादुर रायमाझी, गौरिशंकर चौधरी र प्रभू साहलाई कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । प्रचण्डको पत्रको आधारमा २६ चैत २०७७ मा उनीहरू पदमुक्त भएको सूचना संसद् सचिवालयले टाँस गरेको थियो । यही निर्णयविरुद्ध भट्ट १४ साउन २०७८ मा सर्वोच्च पगेका हुन् ।
ए.के. सञ्चार । २९ बैशाख २०७९, बिहीबार १३:४५