राससको सेवालाई प्रभावकारी बनाउन कर्णाली सरकार सकारात्मक छः मन्त्री जिसी

सुर्खेत । कर्णाली सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले राष्ट्रिय समाचार समितिको सेवालाई प्रभावकारी बनाउनका लागि प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् ।


राष्ट्रिय समाचार समिति (रासस) को ६३ औँ वार्षिकोत्सवको अवसरमा रासस कर्णाली प्रदेश कार्यालयद्वारा ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री जिसीले राससले भ्रष्टाचार, बेथितिका विरुद्धका निष्पक्ष रूपमा समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिए ।

राससले प्रविधिको विकाससँगै हालको अवस्था हेरेर आफ्नो सेवा थपेर लैजानु पर्ने देखिन्छ । यस्तै कर्णालीका मिडियाका लागि पनि हामीले दायरा बढाउन खोजेको हो मन्त्री जिसीले भने,‘बजेटको सीमा गत वर्षको जस्तै भएको हुँदा सोचेको जस्तो परिणाम दिन सकेनौ । हामीलाई बजेको अभाव होइन, शीर्षक संशोधन गर्न नसकिएको हुनाले अप्ठ्यारो परेकोे हो ।,

राससलाई कर्णालीमा मिडियाको विश्वसनीयता बढाउन मन्त्री जिसीले आग्रह गरे । मन्त्री जिसीले भने मिडियाकर्मीका आलोचना आउने हुँदा आलोचनाको रूपान्तरण गर्न सक्नुपर्छ । आलोचनाको रूपान्तरण गर्न सकिएन भने हामी बसेको ठाउँ छोड्न सक्नुपर्छ ।,

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सचिव दीपक कुमार बुढाले कर्णालीका सरकारी निकायले यहाँका मिडिया प्रति उदासीन रहेको बताएका छन् । कर्णालीका सरकारी निकायले पनि आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्न बुढाले सुझाव दिएका छन् । कर्णालीका सरकारी निकायले यहाँका मिडियालाई गन्ती नलगाउने गरेकोमा उनले दुख व्यक्त गरे ।

साथै, राष्ट्रिय समाचार समितिको वार्षिकोत्सवका उपलक्ष्यमा राससकर्मी सु्रेश आचार्यलाई तस्बिर तथा श्रव्य दृश्य सङ्कलनतर्फ उत्कृष्ट समाचारदाताका रूपमा नगद २० हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ ।

रासस कर्णाली प्रदेशका प्रमुख सुरबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न मिडियाका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।