२७ सयमुनि ओर्लियो सेयर बजार, सबै समूह राताम्मे

काठमाडौं । सेयर बजारको परिसूचक नेप्से २७ सय अंकमुनि झरेको छ। सोमबार परिसूचक ७३ अंकले घटेको हो। सो अंकको गिरावटपछि परिसूचक २६८५ अंकमा कायम भएको छ। यसअघि हिजो आइतबार पनि बजार ६१ अंकले घटेको थियो।

परिसूचक मात्रै होइन, कारोबार रकम पनि घटेको छ। हिजो आइतबार ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भएकोमा सोमबार ५ अर्ब १२ करोडमा सीमित भयो।

यस दिन सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ४४, ब्यापार ४१, होटल तथा पर्यटन ९०, विकास बैंक १९४, जलविद्युत ८०, फाइनान्स ११२, निर्जीवन बीमा ४३९, उत्पादन १०४, अन्य ४६, माइक्रोफाइनान्स १३२, जीवन बीमा ४३७ र लगानी समूह २ अंकले घटे।

यस दिन ३ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। त्यस्तै मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढ्यो। हालै सूचीकृत भएको मैलुङखोलाको मूल्य प्रतिकित्ता २२६ रुपैयाँ पुगेको छ। गोर्खाज फाइनान्सको मूल्य ६ प्रतिशतले बढ्यो।

गुमाउनेमा गुडविल फाइनान्स, युनाइटेड इदी मर्दी, नेपाल फाइनान्स, कालिका पावर, पोखरा फाइनान्स, नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अगाडि रहे। ती सबै कम्पनीको मूल्य ७ प्रतिशतभन्दा धेरैले घट्यो।

यस दिन कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको १५ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड रुपैयाँ बराबरको कारोबार भयो। हिमालयन डिस्टिलरी, नेपाल बैंक, नेसनल हाइड्रोपावर पनि कारोबारका आधारमा अगाडि रहे।