जाजरकोटको भुरचौरमा लिप्टमार्फत् आँगनमै पानी, हर्षित स्थानीय

जाजरकोट । वर्षौँदेखि खानेपानीको समस्यबाट हैरानी भएका जाजरकोटको भेरी नगरपालिका–१० भुरचौरवासी लिप्टबाट घरआँगनमै खानेपानी आएपछि खुसी भएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको आर्थिक उक्त ठाउँमा खानेपानी पुगेको हो ।

पुस्तौँदेखि भेरी नदीको धमिलो पानीमा जीवन निर्वाह गरेका स्थानीयवासी स्वच्छ सफा पानी पाउँदा निकै हर्षित भएका छन् । पानी लिन डोको नाम्लोको सहारामा घण्टौं हिँडेर भेरी नदीको धमिलो पानी खाने गरेका नागरिक घर आँगनमै पानी पाउँदा घरायसी काममा सहजता आएको स्थानीयवासी रामबहादुर चन्दले बताए ।

पानी पाएपछि १३५ घरपरिवार बसोबास गर्दै आएको भुरचौरमा पानीको पिरलो हटेको स्थानीयबासी महेन्द्रबहादुर शाहीले बताए । खेतीयोग्य जमिन भए पनि सिँचाइ नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटबाट भुरचौरमा लिप्ट खानेपानी आयोजनाको लागि ४० लाख, चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरिएको कार्यालय प्रमुख ज्वालाराज शाहीले बताए । उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर शाहीले ७५ प्रतिशत काम सम्पन्न भएर २५ प्रतिशत काम बाँकी रहेको केही समयमा सबै काम सम्पन्न हुने बताए ।