रातारात पारित गरिएको नागरिकता विधेयकको सशक्त विरोध गर्नुपर्छ – भीम रावल

सुर्खेत । रातारात पारित गरिएको नागरिकता विधेयकको सशक्त विरोध गर्न नेकपा एमालेका नेता भीम रावलले आह्वान गरेका छन् ।शुक्रवार प्रतिनिधि सभाबाट नागरिकता सम्बन्धी विधेयक पारित भएको थियो । उक्र विधेयक पारित भएपछि आज सामाजिक सञ्जाल मार्फत नेता रावलले देशहितमा आँच पुर्‍याउने काम रातारात भएको स्मरण गरेका छन् ।

देश हितमा आँच पुर्‍याउने काम रातारात हतारमा गर्ने (जस्तैः महाकाली सन्धि, एमसीसी सम्झौता अनुमोदन र नागरिकता सम्बन्धी विधेयक पारित) नेपालका शीर्ष भनिने नेताहरूको कारण नेपाल राज्य अत्यन्तै कमजोर हुँदै गइरहेको तथ्य सबै नेपालीले बुझ्नु पर्ने बताएका छन् ।

निहित सत्ता स्वार्थ पूर्ति गर्न बाह्य शक्तिप्रति भक्ति गर्दै नेपालको दीर्घकालीन अस्तित्वमाथि नै खतरा निम्त्याइएको रावलले बताए । उनले जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व र स्वाधीनतालाई क्रमशः सिध्याउने खेलका मतियार बनेको जिकिर गरेका छन् । यस्तो कार्य निन्दनीय रहेको रावलको भनाई छ । नागरिकता पाउने प्रावधान खुकुलो पारेर विधेयक पारित गरिएकोप्रति आलोचना भइरहेको छ ।