सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द

सुर्खेत । सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द गरेका छन् । यातायात व्यवसायीहरुले भाडाका नीजि सवारीहरुले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन् ।

विहानैदेखि व्यवसायीहरुले बसपार्कबाट कुनै पनि सार्वजनिक सवारी छुटाएका छैनन् । वीरेन्द्रनगर बसपार्कबाट बाहिरिने यात्रुहरुको भने विचल्ली भएको छ । मुख्यगरी नीजि रातो नम्बर प्लेट का सवारीहरुले खुलेयाम यात्रुहरु ओसार्ने कार्य गरेकाले व्यवसायीहरुले बाध्य भएर सार्वजनिक यातायात बन्द गर्नु परेको देउती नागरिक यातायात प्रा.लि. का सचिव रमेश खड्काले बताए ।

बुधबार विहानदेखी प्रदेश राजधानी वीरेन्द्रनगरबाट बाहिरिने कुनै सवारी सञ्चालनमा आएका छैनन् । बारम्बार स्थानीय प्रशासन र प्रहरीलाई यातायात व्यवसायीहरुले संयुक्त रुपमा यस विषयमा जानकारी गराउँदा पनि सुनुवाई नभएको खड्काले जानकारी दिए ।

तेलको मूल्य बढ्दा पनि सरकारले भाडा समायोजन नगरेको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि. का अध्यक्ष रमेश सापकोटाले बताए । सार्वजनिक सवारीमा जानु पर्ने यात्रुहरुलाई प्रहरीकै अघिबाट ओहोरदोहोर गर्दा नियन्त्रण हुँदैन् यस्तो अवस्थामा कसरी सार्वजनिक सवारी सञ्चालनमा ल्याउने सापकोटाको भनाइ छ।