जाजरकोट। जिल्लाभरिको समीक्षा तथा कामकारबाहीको विषयमा छलफल हुने सरकारी कार्यालय प्रमुखको बैठकमा जिल्ला कृषि विकास कार्यालय जाजरकोटका प्रमुख रविन धिताल सहभागी नहुने गरेको पाइएको छ । उनी जाजरकोट सरुवा भएर आएको झन्डै वर्ष दिन पुग्न लागे पनि प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा हुने बैठकमा सहभागी हुने गरेका छैनन् ।
स्थानीय तहको चुनावको समयमा कृषि विकास कार्यालयको गाडी राम्रो हुँदाहुँदै बिग्रिएको छ भने उनले गलत जानकारी दिएरका थिए । पछि खोजबिन हुँदा सो गाडी उनले चुनावमा प्रयोग गर्न दिएको पाइएके थियो ।पटक पटक विवादमा आउने धिताल अहिलेसम्म जिल्ला प्रशासन कार्यालयको बैठकमा नगएको स्रोतले बताएको छ । कार्यालयमा आफ्नै मातहतका कर्मचारीसँग रुखो बोली बोल्ने गरेको एक कर्मचारीले बताए ।
कृषि विकास कार्यालयबाट सधैं गुनासो बढी आउने गरेको उनको भनाइ छ । आफ्ना कर्मचारीलाई समेत कार्यालयको काममा जाँदा निजी सवारीसाधन प्रयोग गर्न बाध्य पार्ने, तर आफू जहाँ गए पनि सरकारी गाडीमै जाने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । प्रमुख जिल्ला अधिकारीले बोलाएको बैठकमा किन जानु हुन्न भन्ने प्रश्नमा उनले भने, ‘सबैलाई सोध्नुपर्ने, माननीयलाई फोन गर्नुपर्ने कारण के छ र ? को हुन् तिनीहरु ? अर्काको कुरा सुनेर प्रश्न गर्ने तपाई को हो ?
सेवा लिन आएका सर्वसाधारणसँग समेत उनले हेपेर बोल्ने गरेको गुनासो जिल्ला प्रशासन कार्यालयमा पुगेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले समेत गुनासो धेरै आएको र कुनै समन्वय नगर्ने मध्य कृषि कार्यालय एक रहेको बताए ।
ए.के. सञ्चार । २३ असार २०७९, बिहीबार १२:२५