पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार एथलेटिक्सका पाँच स्वर्ण पदक निर्णय भएको छ । जसमा नेपाली सेनाले तीन तथा लुम्बिनी र कर्णाली प्रदेशले १–१ स्वर्ण पदक हात पारेका छन् ।पोखरा रंगशालामा सोमबार भएको महिला एक सय मिटर हर्डल्समा सेनाकी जयरानी थारुले स्वर्ण पदक प्राप्त गरिन् । हिट चरण १५.१६ सेकेन्डको समयमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी जयरानीले फाइनलमा स्वर्ण पदक जित्न १५.६९ सेकेन्डको समय लिइन् । उनले आफ्नै नाममा रहेको १५.२० सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।
यस विधामा नेपाली सेनाकै निर्मला थापाले १६.२५ सेकेन्डको समय निकाल्दै रजत तथा एपिएफकी भगिरतीकुमारी थारुले १९.१३ सेकेन्डको समयमा पूरा गरेर काँस्य पदक जितिन् । एक सय १० मिटर हर्डल्समा चौधरीले स्वर्ण पदक पाइन् ।
यसैगरी, एक सय १० मिटर पुरुष हर्डल्समा पनि नेपाली सेनाकै जीवन चौधरीले स्वर्ण पदक जित्न सफल भए । चौधरीले निर्धारित दुरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् । सो इभेन्ट्समा पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत पदक तथा सेनाका रामप्रसाद थारुले १६.०० सेकेन्डको समयमा पूरा गरी काँस्य पदक जिते।
डिस्कस थ्रो : ओली र अधिकारी विजेता
एथलेटिक्सको डिस्कस थ्रोमा नेपाली सेनाका चित्रबहादुर ओलीले ३८.४८ मिटरको दुरी फ्याल्दै स्वर्ण पदक हात पारे । नेपाल पुलिस क्लबका पुस्कल खड्काले ३२.७५ मिटरसहित रजत पदक जिते भने सुदूरपश्चिमका हेमन्त पाल ३१.१० मिटर फालेर काँस्य पदक जिते ।
महिलातर्फ लुम्बिनी प्रदेशकी संगीता अधिकारीले ३५.१० मिटरको दूरीसहित स्वर्ण पदक प्राप्त गरिन् । सो विधामा एपिएफकी जितकुमारी महतो ३३.६० मिटरसहित रजत पदक जितिन् भने नेपाली सेनाकी मिलन बुढामगरले ३२.३५ मिटर फालेर काँस्य पदक प्राप्त गरिन् ।
तीन हजार मिटर स्टिपल चेज : दुर्गबहादुरलाई कीर्तिमानसहित स्वर्ण
कर्णाली प्रदेशका दुर्गबहादुर बुढाले पुरुष तीन हजार मिटर स्टिपल चेजमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउदै स्वर्ण जितेका छन् । उनले निर्धारित दुरी आठ मिनेट ५५ : १९ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । यसअघि सन् २००४ मा पाकिस्तानको इस्लामावादमा राजेन्द्र भन्डारीले ८ मिनेट ५७ :३० सेकेन्डको कीर्तिमान बनाएका थिए । सो स्पर्धामा एपिएफका अजितकुमार यादवले ९ मिनेट २१ः१० सेकेन्डमा दुरी पूरा गर्दै रजत तथा नेपाली सेनाका सुवास कार्की ९ मिनेट २१ः१० सेकेन्डमा पार गर्दै काँस्य जिते ।
ए.के. सञ्चार । ३१ आश्विन २०७९, सोमबार १६:०९