कर्णालीमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले मनाए पहिलोपटक ‘प्राइड परेड’

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा लैङ्गिक र यौनिक अल्पसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मनाएको छ । एलजीबीटिआईक्यू समुदायले हरेक वर्षको जुन महिनालाई आफ्नो गौरवको महिनाको रुपमा मनाउँदै आएकोमा कर्णाली प्रदेशको सुर्खेतमा भने पहिलोपटक गौरव यात्रा मनाइएको हो ।

पछिल्लो समय कर्णालीमा रहेका एलजिबिटिआईक्यू समुदायका व्यक्तिहरु खुल्न थालेपछि कर्णालीमा पहिलोपटक गौरव र्‍याली गरिएको ब्लू डायमण्ड सोसाइटीकी परियोजना अधिकृत रुबिना तामाङले जानकारी दिइन् । प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट गौरब र्‍याली सुरु भइ पिपलचौतारामा सम्पन्न भएको थियो ।

विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरवयात्रा मनाउने गरिन्छ । सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको तामाङले बताइन् । उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण गरी उनीहरुमाथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो।यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिने उनको भनाइ छ ।

कार्यक्रममा उनले आफ्नो समुदायमा खुल्न नसकेका एलजिबिटिआईक्यू समुदायका व्यक्तिहरुलाई सहज रुपमा खुल्न सक्ने वातावरण बनाइदिनुपर्नेमा जोड दिइन् । “तपाईंको आफ्नै घर समुदायमा तपाईंकै आफन्तमध्ये जो कोही पनि हामी जस्तै हुन सक्नुहुन्छ, उनले भनिन्, “तर उहाँहरु समाजमा अपहेलना हुने डरले खुल्न चाहिरहेको अवस्था छैन त्यसैले तपाईंहरु सबैले उहाँहरु जस्तो रुपमा खुल्न चाहानुहुन्छ त्यही रुपमा सहज रुपमा स्वीकारेर बाँच्ने वातावरण मिलाउनुपर्छ ।”

विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनी ती समुदायले गौरवयात्रा मनाउँछन्। विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालेको हो। उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि प्रहरी छापाका नाममा आक्रमण भएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो। यही प्राइड परेडका सम्झनामा विश्वभर जुन महिनामा ‘प्राइड परेड’का नाममा कार्यक्रमहरू गरिन्छ ।

के हो प्राइड मन्थ ?

विश्वभरिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय र उनीहरूका सहयात्रीले जुन महिनालाई प्राइड मन्थका रूपमा मनाउँछन्।

यो महिनामा कैयौँ जुलुस र प्रदर्शनहरू हुने गर्छन्। तर गत वर्ष र यस वर्ष पनि कोरोनाभाइरस महामारीका कारण त्यस्ता कार्यक्रमहरूमा परिवर्तन आएको देखिएको छ।

मानिसहरू उपस्थित भएर गरिने कार्यक्रमहरू रद्द भए पनि सामाजिक सञ्चालनहरूमार्फत भर्चुअल रूपमा कार्यक्रमहरू भइरहेका छन्।

 

प्राइड परेडमा के हुन्छ ?
प्राइड परेडमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो पहिचान खुलाएर सडकमा आउने गर्छन्।

उनीहरूले आफ्नो समूहको प्रतिनिधित्व गर्ने झन्डा, ब्यानर र पोसाक लगाएका हुन्छन्।

जस्तो कोही व्यक्ति शारीरिक रूपमा पुरुषका रूपमा जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाको रूपमा मान्छ भने उक्त व्यक्ति परेडमा महिला बनेर आउँछ।

नेपाली समाजमा कैयौँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले अहिले पनि दोहोरो जीवन अर्थात् आफ्नो पहिचान लुकाएर बस्नुपर्ने बाध्यता रहेको बताइन्छ।

तर प्राइड परेडका दिन यस्ता व्यक्तिहरू पनि खुलेर बाहिर आउने गर्छन्।

नेपालमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकार

संविधानमै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको पहिचान गर्ने मुलुकमा नेपाल पर्छ।

तर अझै पनि कानुनहरू नबन्दा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कैयौँ अधिकारहरू प्राप्त गर्न नसकेको अधिकारकर्मीहरूले बताउँदै आएका छन्।

त्यस्तै मध्येको एउटा विषय हो- समलैङ्गिक विवाहलाई कानुनी मान्यता।

अहिलेसम्म नेपालमा यस्तोखाले विवाह वा कृत्रिम गर्भाधानलगायतका अधिकार दिने कानुनी व्यवस्था हुन नसक्दा समस्या भोग्नु परेको लैङ्गिक अल्पसङ्ख्यकहरूको भनाइ छ।

गत वर्ष सरकारले त्यसबारे नीति बनाउने प्रक्रिया सुरु गरे पनि त्यसले अझै पूर्णता पाउन नसकेको बताइएको छ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूलाई विभेद गर्ने कानुनहरूमा सुधार गर्न सर्वोच्च अदालतले आदेश दिएपछि अधिकारकर्मीहरूले सबै खाले विभेदकारी कानुनमा सुधारका लागि माग गर्दै आएका छन्।

सर्वोच्च अदालतले २०६४ पुस ६ गते विभिन्न कानुहरूमा सुधार गर्न आदेश दिँदै समलैङ्गिक सम्बन्धलाई कानुनी मान्यता प्रदान गरेको थियो।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका अधिकारहरूको पैरवी गर्दै आएको नील हीरा समाजका अनुसार त्यस बेला नागरिकता र राहदानीमा तेस्रो लिङ्गी विधा थप्न पनि माग गरिएको थियो।

हाल त्यस्तो व्यवस्था भइसकेको भए पनि अझै कैयौँ विभेदकारी कानुनी प्रावधान जारी नै छन्।