सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१२ चनौटेस्थित कालुङ्गगचोकबाट सुर्खेत विमानस्थल नजिकै रहेको ईत्राम खोलाको मोटरेबल पुल जीर्ण बनेको छ ।
उक्त पुल निर्माण भएको लगभग २०र२५ वर्ष पुग्यो ।कर्णाली राजधानीमा रहेको सुर्खेत विमानस्थल नजिकै रहेको सानो साँघुरो पुल जीर्ण बनेसँगै जोखिम पनि उतिकै रहेको बढेको हो ।मोटरेबल पुल जीर्ण बन्दा सवारीसाधन र यात्रुहरू समेत जोखिमपूर्ण रुपमा वारपार गर्न बाध्य भएका छन् ।
पुलको अधिकांश सिमेन्टले बनेको ठाउँमा भत्केको, पुलमा बनाइएका पोलहरू भाँचिएर त्यसमा भएका फलामका पाइप खस्न लागेका र खिया लागेको साथै पुलको दुवै छेउमा पानी जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारीसाधन र यात्रु जोखिममा परेका छन् ।
दिन प्रतिदिन जीर्ण बन्दै गएको पुलको अवस्था देख्दा भोलिका दिनमा केही घटना घट्छ कि भन्ने चिन्ता रहेको सवारी चालकको गुनासो रहेको छ । पुलमा दैनिक जस्तो ओभर लोड गरिएका गाडी, डोजर, लोडर लगायतका हेबी इक्युमेन्टसमेत पुलबाटै वारपार गर्ने गर्दा पुल अझै जीर्ण बन्दै जाने स्थानीय नन्दलाल कँडेलले बताए ।
उनले भने,‘पुलमा जुनसुकै बेला पनि दुर्घटना निम्तिने खतरा बढेको छ । पुलबाट दैनिकरुपमा यातायातका साधन आवतजावत गर्ने गर्छन् । पुलको वारपारमा बनाइएको पोल पनि जीर्ण बनेका छन् । पुल समयमा नै निमार्ण समयमा गएन भने घटना घट्ने सम्भावना धेरै रहेको छ ।, साथै, कँडेलले पलानिङ्ग अनुसारको पुल बनाउन आग्रह गरे । नक्सा र पलानिङ्ग अनुसारको पुल निर्माण नभएमा विरोध गर्ने उनको दाबी छ ।
पुलको आडैमा बस्दै आएकी गोमादेवी शाहीलाई भने नयाँ पुल बन्यो भने बस्ती उठाउँछन् कि भन्ने पीर परेको बताउँछिन् । विगत १५\१६ वर्ष देखि पुलको आडैमा घरमा बनाएर बसेकी शाही भन्छिन्, ‘पलानिङ्ग अनुसारको पुल निर्माण गर्ने हो भने बस्तीलाई व्यवस्थापन गर्नुपर्छ ।’
सडक डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर टोप नारायण पौडेलका अनुसार उक्त पुल जिल्ला विकास समिति मार्फत बनेको बताए । सडक विभाग पुल महाशाखाबाट पुलको ३\४ वर्ष पहिला नै डिजाइन डिपीआर भइसकेको जानकारी दिए ।
पलानिङ्ग अनुसारको ११ मिटर चौडाइ २० मिटर लम्बाइको पुलको डिजाइन भएर स्वीकृत गर्नका लागि पठाएको पौडेलले बताए । हालको पुल भन्दा २ मिटर माथि उठाउने पर्ने देखिएको छ उनले भने,‘पुल दायाँ र बायाँबाट माथि उठाउँदा खोला छेउ छाउका बस्तीहरूलाई समस्या पर्नुका साथै सडकलाई समेत समस्या पर्ने देखिएको इन्जिनियर टोप नारायण पौडेलेको भनाइ छ ।
तत्कालका लागि पुलको डिजाइन स्वीकृत भयो भने ठेक्का लगाउने अवस्था आयो भने लगाउन सकिने तर ठेक्का लगायो भने काम गराउन सकिन्छ या सकिँदैन भन्ने अहिले नै भन्न नसकिने बताए ।उनले भने,‘दुई मिटर माथि उठाउने बित्तिकै डिस्टप हुनेका साथै औद्योगिक क्षेत्र तर्फ आउने सडकमा रहेका धेरै घरहरू डाउन हुन्छन् । बाटो भन्दा तल घरहरू हुन्छन् ।’
आर्थिक वर्ष २०८०र०८१ मा सङ्घीय सरकारले ५ लाख बजेट निमार्णका लागि छुट्टाएको छ । ५ लाखले ठेक्का लगाउन र काम लगाउनमा समस्या हुने इन्जिनियर पौडेलको भनाइ छ ।
खोर्के खोला पुल र ईत्राम खोला पुल एकै पटक बनेको हुँदै दुवै पुलको अवस्था जीर्ण बनेको छ । खोर्के खोला पुल एकदमै धेरै यातायातका साधन आवतजावत गर्ने मोटरेबल पुल हो । वीरेन्द्रनगर चोक देखि एरिचोक जाने मुख्य भित्री सडकमा रहेको पुल मर्मत अथवा पुन पुल निमार्ण गर्नुपर्ने स्थानीयको माग छ ।
खोर्के खोलामा रहेको पुललाई बाटो भन्दा डेढ मिटर माथि उठाउनु पर्ने इन्जिनियर पौडेल बताउँछन् । सो ठाउँमा घरहरू टाँसिएर बनेको हुँदा ११ मिटर चौडाइ डेढ मिटर हाइट उठाउँदा धेरै घरहरू जाने हुन्छ ।
‘त्यसका लागि वीरेन्द्रनगर नगरपालिकालाई चिठी लेखि सकेका छौँ’ उनले भने,‘बाटोको छेउछेउमा घरहरू क्लियर गरेको भए सहज हुन्थ्यो । हाम्रो राजमार्ग त होइन तर स्थानीय सडक पुल अन्तर्गत भएको हुँदा पुल वारी र पारि रहेको ठाउँ नगरपालिकाले क्लियर गर्दियो भने डिजाइन स्वीकार्य भयो भने काम गर्न सहज हुन्थ्यो होला । त्यसैले हालको भन्दा डेढ मिटर माथि उठायो भने वरपरको बजारहरूलाई समस्या हुन्छ । त्यसैले कन्स्ट्रक्सन गर्न सम्भव नदेखेको हुँदा ठेक्का लगाउन सकेका छैनौं ।’
वीरेन्द्रनगर नगरपालिका वडा १२ का वडा अध्यक्ष चूडामणि चपाईका अनुसार पुरानो साँघुरो पुल हुनुका साथै हाल चार मिटरको पुल भएकाले दुर्घटनाको जोखिम रहेको बताए । पुल निमार्णका लागि सङ्घीय सरकारले ५ लाख रुपैयाँ विभेदका रूपमा विनियोजन गरेकोमा आक्रोश व्यक्त गरे ।
५ करोड लागतमा बन्ने उक्त पुल ५ लाख विनियोजन गरेर सामाजिक सञ्जालमा भाइरल बनाएकोमा खेद प्रकट गरेका छन् । सुर्खेत विमानस्थलदेखि पूर्व राजादेखि प्रधानमन्त्री समेत यही पुलबाट आवतजावत गरे पनि पुलतिर ध्यान नगरेको बताए । पुल विगतदेखि अनुसूची र डिपिआर गरेर पठाउँदा पनि सरकारले कटौती गरेको पठाएको वडा अध्यक्ष चपाईको गुनासो छ । जनताको जनप्रतिनिधि विचौलियाको योजना पास गर्ने मात्रै भएको तर जनताका समस्याका लागि बजेट विनियोजन नगर्ने गरेकोमा दुख व्यक्त गरे । कर्णाली सरकारले टुक्रे योजना हालेर जनताको आँखामा छारो हाल्ने काम गरेको बताए ।
यता वीरेन्द्रनगर नगरपालिकाले भने आफूले गरेको काममा कतै पनि कमी नगरेको बताउने गरेको छ । खोर्के र ईत्राम पुलको डिजाइन र स्टेटमेन्ट हालको भन्दा धेरे अग्लो भएका कारणले गर्दा पुल भन्दा वर र परका बस्तीलाई डुबानमा पार्ने हुँदा खोक्रे पुलको केही मर्मत र पुल छेउछाउमा भएका पिलरको व्यवस्थापन गर्ने भनेर सडक डिभिजन कार्यालय सुर्खेतलाई आग्रह गरेको नगरपालिकाका उप–प्रमुख नीलकण्ठ खनालले जानकारी दिए ।
उनले भने,‘ईत्राम खोलाको पुलका लागि टेन्डर गर्नु भनेर म आफै सडक डिभिजन कार्यालयमा पुगेको थिए । त्यहाँ रहेका बस्तीले पुल बनाउन दिँदैनन् भने कुरामा सत्यता छैन । स्थानीय तहले गर्नुपर्ने सहयोग र पुल आसपासमा रहेका जोखिम बस्तीलाई स्थानान्तरण गर्न नगरपालिका तयार रहेको छ । प्रदेशका माननीय, नगरपालिका प्रमुख, कार्यपालिका सदस्य र म बसेर यस विषयमा छलफल पनि भएको छ । उहाँहरूले ठेक्का टेन्डर अगाडि बढाउनु पर्छ ।’
ए.के. सञ्चार । ९ श्रावण २०८०, मंगलवार १८:०७