कर्णालीमा एक वर्षमा ५४६ सवारी दुर्घटना, १३१ जनाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेशमा दैनिक जस्तो सवारी दुर्घटना हुने गर्छन् । कर्णाली प्रदेश अन्य प्रदेशभन्दा भौगोलिक विकटताका कारण सवारीसाधनहरु बढी दुर्घटना हुने गर्छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार प्रदेशभरि आर्थिक वर्ष २०७९÷०८० मा प्रदेशभरि ५४६ सवारी दुर्घटना, १३१ जनाको मृत्यु र १ हजार ९० जना घाइते भएका छन् ।

दुर्घटना हुनुका कारण चालक अनुमति पत्र नभएर जथाभाबी रूपमा सवार चलाउनु, मादक पदार्थहरू सेवन गरेर सवारी चलाउनु, सडकको गुणस्तर कमजोर हुनु, सिट क्षमताभन्दा बढी यात्रु बोक्नु, तीव्र गतिमा सवारी चलाउनु, जथाभाबी रूपमा बाटो काट्नु र हेलमेट नलगाई सवारी चलाउनु आदि सवारी दुर्घटना र बढी क्षतिको प्रमुख कारण मानिएको छ ।

सवारी दुर्घटनालाई कम गर्न र अकालमा हुने मृत्यूबाट जोगाउन कर्णाली प्रदेश प्रहरीले विभिन्न किसिमका सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी समुदाय साथै विद्यालयहरूमा समेत सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ ।

सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतले चालकसँग १ मिनेट कार्यक्रम गरेको छ । सुर्खेतस्थित विभिन्न राजमार्गहरूका अस्थायी ट्राफिक प्रहरी पोस्टहरूले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको जानकारी गराउने उद्देश्य उक्त कार्यक्रम गरेको हो ।

सुर्खेतको दैलेख रोड, रत्न राजमार्ग तथा कर्णाली राजमार्गमा अवस्थित अस्थायी प्रहरी पोस्ट गोठीकाँडा, कपासे, बाङ्गेसिमल र बबईमा प्रहरीले चालकसँग १ मिनेट कार्यक्रम सञ्चालन गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सार्वजनिक तथा निजी सवारी साधनका चालक, सहचालक तथा सवार यात्रुहरूलाई सवारी दुर्घटना तथा ट्राफिक नियमको सम्बन्धमा जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम गरेको हो ।

आर्थिक वर्ष २०७९÷०८० मा कर्णालीमा प्रहरीले ट्राफिक सचेतना सम्बन्धी ३ हजार ६३६ वटा कार्यक्रम २ लाख ५ हजार ६०५ जनालाई ट्राफिक सचेतना, सवारी दुर्घटना न्यूनीकरण र यात्रुहरूको सुरक्षाका लागि २०७९ माघ १८ गतेबाट यात्रु मैत्री अभियान समेत सञ्चालन गरेको थियो । त्यसै गरी प्रहरीले ४४ वटा मादक पदार्थ सेवन सम्बन्धी कक्षा सञ्चालन २ हजार १५० प्रशिक्षित भएका छन् ।