हराउँदै ‘स्वर्गकी अप्सरा’ को सुन्दरता

सुर्खेत । कर्णाली प्रदेशकै रमणीय र उत्कृष्ट पर्यटकीय गन्तव्य हो रारा ताल । मुगु जिल्लामा अवस्थित यो ताल नेपालकै सबैभन्दा ठूलो ताल मानिन्छ ।

रारा घुमफिर गर्ने समयमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो भिड लाग्ने गर्छ । गर्मी मौसम सुरू भएपछि रारामा घुमफिर गर्न अत्यन्तै रमाइलो र आनन्द हुने हुँदा पर्यटकको पहिलो रोजाइमा पर्छ यो ठाउँ ।

रारा ताल समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा रहेको छ । सन् २००८ मा रामसार क्षेत्र घोषणा गरिएको यो ताल १०।८ किलोमिटर क्षेत्रफलमा फैलिएको छ । तालको औसत लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर र गहिराइ १६७ मिटर छ ।

रारा ताललाई राजा महेन्द्र शाहले वि।स २०२० सालमा ‘स्वर्गकी अप्सरा’ भनेर नामकरण गरेका थिए । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यो तालमा विश्वमै कहीँ पनि नभेटिने ‘स्नो टाउट’ प्रजातिको माछा पाइन्छ ।

रारा तालको पूरा बनावट हेर्नका लागि समुद्री सतहबाट करिब ४ हजार मिटर उचाइमा अवस्थित मुर्मा टप पुग्नु पर्दछ । यो स्थानबाट रारातालको मनमोहक दृश्यका साथै सैपाल हिमालको शृङ्खलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ । रारा ताल पुरै हेर्नेका लागि तालको किनारै किनार एक फन्को मार्न ५ घण्टा लाग्ने गर्छ ।

रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिली चौरमा सवारी साधन रोकेर तालतर्फ पैदल यात्रा गर्नु पर्छ । हिँड्न नसक्नेका लागि घोडाको व्यवस्था छ । तर, अहिलेको मौसममा घोडाहरूलाई  चरनका लागि पाटन लगिएको हुन्छ । त्यसले गर्दा पैदल यात्रा गरेर नै राराताल पुग्नु पर्छ ।

आजभोलि रारा ताल वरपर खुला पशु चौपायाले भरिभराउ भएको देख्न सकिन्छ । ताल क्षेत्रको हरियाली र फुल्दै गरेका फूल चौपायाले खाँदा यहाँको सुन्दरातामै ह्रास आएको जानकारहरू बताउँछन् ।

रामसार क्षेत्रमा पर्ने ताल आजभोलि चरन क्षेत्र बनेको छ । ताल आसपासमा पलाउन लागेका हरियो घाँसलगायत विभिन्न प्रजातिका फूल वस्तुभाउले खाएर, कुल्चेर उजाड बनाएको छ ।

छाडा पशु चौपायाको मलमूत्र र दिसा पिसाबले रारा तालमा पाइने विश्वमै दुर्लभ माछा र अन्य जलचरको प्रजनन र स्वास्थ्यमा समेत समस्या देखिने उनीहरूको भनाइ छ  । ताल वरिपरिको चौर तल्लो मिली, माथिल्लो मिली, दोफ्या, ठाकुरज्युले लात्ती हान्ना, ओखरबोट लगायतका क्षेत्र खुला चरिचरनका रूपमा प्रयोग हुँदै आएको छ ।

रारा रष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरे रारा क्षेत्र आसपास पहिला देखिनै चरन क्षेत्र भएकाले खुल्ला छोडेको बताउँछन् ।

उनले भने,‘खडेरीको समयमा तालमा पानी खुवाउनका लागि मुम्रा गाउँ बासीले आफ्ना पशुवस्तु रारामा छोड्ने रहिछन् । त्यसैले पनि हामीले खुल्ला गरेका हौं ।’

गोठालाहरूलाई वस्तुभाउ रारामा नल्याउनू भनेर पनि सम्झाए पनि पानी खुवाउन ल्याउने भनेर छाड्ने गरेको उनले बताए ।

‘यसलाई नियन्त्रण गर्न पोस्ट बनाउने प्रस्ताव गरेका छौँ । फेरि १२ बजेपछि हावा चल्ने हुँदा हामी ताल पारी बस्ने हुँदा फर्किनु पर्छ । स्थानीय हिँड्ने बाटो बन्द गर्ने कुरा भइरहेको छ’, उनले भने ।

पहाडी निकुञ्जमा चरिचरनको व्यवस्था भएकाले पूर्ण रूपमा नियन्त्रण भने कहिले पनि हुन नसक्ने संरक्षक घिमिरेको भनाइ छ ।

रारा ताल घुम्न जानका लागि भने अहिले सिजन होइन । त्यसले गर्दा पनि सिजनको बेलामा भन्दा अहिले केही मात्रै रारा घुम्न जान्छन् । यसले गर्दा आन्तरिक पर्यटकले सिजनमा बास पाउने अवस्था हुँदैन । रारा तालको छेउमै डाँफे होटल लगायत दुई वटा मात्रै बास बस्ने ठाउँ छ । यी दुई होटलको क्षमताले सिजनमा पुग्दैन । हाल भने मुम्रामा भने होमस्टे सञ्चालनमा छन् ।

रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुवै प्रयोग गर्न सकिन्छ । दिनभरिमा आफ्नो रूप फेरिरहने राराताल जेठदेखि असोजसम्म विभिन्न फूलहरूले सजिएर साँच्चिकै सुन्दरता थपिन्छ ।

यस तालको अवलोकन गर्न वर्षेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । यसका साथै छायानाथ मन्दिर, रारा राष्ट्रिय निकुञ्ज, चङखेली हिमाल आदी पर्यटकीय स्थलहरू यस जिल्लामा रहेका छन् । तर, भौगोलिक विकटताका कारण यी पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार विकास हुन सकेको छैन ।

रारा जान उपयुक्त समय

रारा भ्रमण गर्न अनुकूल समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म १ मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्य भन्दा पनि तल हुने भएकोले यो समयमा अनुकूल हुँदैन । तर, आन्तरिक पर्यटकहरू दशैं तथा तिहारको बीचमा बढी घुम्न जाने गर्छन् ।

अलपत्र साइकल लेन र पदमार्ग

रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको काम भइरहेको छ । निर्माण कम्पनीले जिम्मा लिएको काम लापरबाहीले गर्दा तीन वर्षदेखि अलपत्र परेको थियो ।

रारामा पर्यटकीय पूर्वाधार पदमार्ग निर्माणका लागि संघीय सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष ०७८र७९ मा ४५ करोड २९ लाखमा खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो ।

योजना निर्माणको जिम्मा पाएको खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिका प्रोपाइटर चन्द्र थकालीले ८ करोड पेश्की लिएर कामै नगरी योजना अलपत्र पारेका थिए ।

रारा ताल वरिपरि बनाउने भनिएको १६ किलोमिटर पदमार्ग सोलिङको काम अब ५ किलोमिटर बाँकी रहेको र वाल, पिसिसि र नाला लगायतका काम बाकी रहेको ठेकेदार जसिमल विकले जानकारी दिए । त्यसभित्रको २ किलोमिटर आफूले ठेक्का लिएको उनले बताए । यो सबैको लागत ६ अर्बमा काम भइरहेको जनाए ।

बहु वर्षीय योजना ०८२ सालसम्म सक्नुपर्ने थियो उनले भने,‘ठेकेदार कम्पनीको लापरबाहीले काम अगाडि बढेन त्यसले गर्दा समय थप गरेर निर्माण कार्य सम्पन्न गर्न तिन वर्ष बाँकी छ ।’

रारा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेका अनुसार रारा राष्ट्रिय निकुञ्जभित्र पूर्वाधार निर्माणको काम तीव्र गतिका रूपमा हुन नसक्दा रारामा आउने पर्यटकलाई सुविधा दिन नसकेको बताए । रारा तालमा बन्ने पुल पनि कसले बनाउने भन्ने कुरामा अन्योल भएको बताए । प्रस्ताव मात्रै भएको उनले जानकारी दिए ।