दैलेखमा करारका कर्मचारीलाई नियम विपरीत लाखौँ रकम भुक्तानी

सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिकाले करारका कर्मचारीलाई नियम विपरीत लाखौँ रकम भुक्तानी गरेको छ । पालिकाले करारमा रहेका कर्मचारीलाई ६ लाख ८१ हजार रुपैयाँ भत्ता भुक्तानी गरेको महालेखापरीक्षकको ६१औँ प्रतिवेदनमा उल्लेख छ ।

सामान्य प्रशासन मन्त्रालयको मिति २०७४र१र२५ को पत्रबाट आर्थिक वर्ष २०७४र७५ बाट लागू हुने गरी करार कर्मचारीको सेवा सुविधाको बारेमा गरेको परिपत्रमा उल्लेखित सेवा सुविधा बाहेक अन्य सुविधा दिन नपाउने व्यवस्था छ । तर पालिकाले भने एक वर्षको अवधिमा करारमा रहेका कर्मचारीलाई उक्त भत्ता सहजै उपलब्ध गराएको हो ।

परिपत्रमा भने करारमा कार्यरत कर्मचारीहरूलाई कुनै पनि किसिमका भत्ता भुक्तानी दिन पाउने व्यवस्था छैन । अब पालिकाले करारका कर्मचारीहरूलाई वर्ष भरी नियम विपरीत स्थानीय भत्ता भुक्तानी गरेकोले उक्त रकम असुल गर्नुपर्ने छ । पालिकाले ६ लाख ८१ हजार असुल गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।