कृष्ण जन्माष्टमी पर्व मनाइँदै

सुर्खेत । आज श्रीकृष्णको पूजा आराधना गरी कृष्ण अष्टमी पर्व मनाइदै छ । भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म जयन्तीका रुपमा यो पर्व मनाइने गरिएको हो ।

द्वापर युगमा भगवान् श्रीकृष्णको यसै रात जन्म भएको पौराणिक कथामा उल्लेख छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । यस रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप यो पर्व मनाउने गरिएको हो ।

कृष्ण जन्माष्टमीका अवसरमा सुर्खेतमा साेमबार विभिन्न मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको थियोे ।

यस्तै, नेपाल मानव धर्म सेवा समिति कर्णाली प्रदेश क्षेत्र आश्रमले श्रीकृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रम गरेर श्रीकृष्ण जन्माष्टमी मनाईरहेकाे छ ।

साथै, कृष्ण जन्माष्टमीको अवसरमा समितिले मंगलबार बिहान झाँकीसहितको वृहत् र्‍याली गर्ने समितिकी सन्त महात्मा निर्मला बाइजीले जानकारी दिइन् ।

तस्बिरहरू