कर्णालीको समृद्धिका लागि कलाकार र पत्रकारको सहकार्य अपरिहार्य छ: वरिष्ठ कलाकार गिरी

सुर्खेत । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति सुर्खेत र कर्णाली प्रदेश समितिले नेपाल पत्रकार महासंघ प्रदेश तथा जिल्ला शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिने कार्यक्रम बिरेन्द्रनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार प्रेमदेव गिरीले कर्णालीको विकास र समृद्धि कला, साहित्य, र कलाकारिताको माध्यमबाट सम्भव हुने बताए । उनले समाजको जागरण र नागरिकको आवाज बुलन्द बनाउन कलाकार र पत्रकारले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार टिकाराम चपाईले पत्रकारहरूको हकहितका लागि प्रतिष्ठानको सहकार्य र समन्वय जारी रहने बताए। उनले कर्णाली प्रदेशको विकासका लागि कला र पत्रकारिताको साझा भूमिका अपरिहार्य रहेको उल्लेख गरे।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष हरिमाया कार्कीले श्रमजीवी पत्रकारिताको महत्त्व उल्लेख गर्दै कलमलाई श्रमजीवीका हकहित, भुइँमान्छेको कथा, र भ्रष्टाचारविरोधी अभियानमा प्रयोग गर्नुपर्ने धारणा व्यक्त गरिन्।

कार्यक्रममा स्थानीय कलाकार, पत्रकार, र समाजसेवीहरूको पनि उल्लेख्य उपस्थिति थियो। सहभागीहरूले कर्णालीको सांस्कृतिक र सामाजिक जागरणमा कला र पत्रकारिताको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जाेड दिएका थिए ।