सुर्खेत । जुम्लामा मानव अधिकार आयोगको कार्यालय त छ, तर कामकाज सबै बन्द छ । गत भदौमा उक्त कार्यालयका शाखा अधिकृत धनराज शाहीको अन्यत्र सरुवा भएपछि आयोगको कार्यालय भएपनि कामकाज सबै बन्द छ ।
त्यसयता सुरक्षा गार्ड कल्पना महताराले बिहान १० बजे नै कार्यालय खोल्छिन्, तर कुनै काम हुँदैन । जसका कारण सेवाग्राही प्रभावित बन्न पुगेको स्थानीय सरोकारवाला गुनासो गर्छन् ।
पहिले उपसचिव सहित ४ जना शाखा अधिकृत सहित दर्जन बढि कर्मचारी भएको कार्यालयलाई विकल्पै नगरि सुर्खेत सारिएको प्रति स्थानीय नागरिक अगुवा संस्थाहरु, सरोकारवाला निकाय र जनप्रतिनिधिले जुम्ला कार्यालयमा जनशक्ति खटाउन स्थानीय नागरिक अगुवा, संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि लगायतले आयोगसँग माग गरेको छ ।
जिल्ला सममन्य समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले आयोगको अनुरोधमा जिल्ला समन्वय समितिभित्रको एउटा घरमा कार्यालय राखिएको बताए । जुम्ला कार्यालयबाट सेवा प्रवाह गर्ने विषयमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर लगायत पदाधिकारीलाई भेटेर जानकारी गराउने काम भए पनि अहिलेसम्म सुनुवाइ नभएको उनले बताए । सांसद कान्तिका सेजुवाल, संविधानसभा सदस्य नरेश भण्डारी सहितको टोली समेत आयोगमा पुगेर यसबारे ध्यानाकर्षण गराएको आचार्य बताउँछन् ।
राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका प्रवक्ता डा. टीकाराम पोखरेले जुम्लाको मानव अधिकार आयोगको कार्यालय सञ्चालनबारे अर्थ मन्त्रालयसँग कुरा भइरहेको बताए । लामो समयदेखि जुम्लामा रहेको आयोगको कार्यालय कर्मचारीविहीन हुँदा मानव अधिकार उल्लंघनका घटनामा आवाज उठ्न छाडेको सरोकारवालाहरू बताउँछन् ।
आयोगले जुम्लामा द्वन्द्वकाल, कर्णाली प्रदेशको आन्दोलन, डा. गोविन्द केसीको आन्दोलन देखी विभिन्न घटना तथा कर्णालीको सवालमा काम गर्दै आएको थियो ।
ए.के. सञ्चार । ३ माघ २०८१, बिहीबार १९:३९