सुर्खेत । सुर्खेतको लेकवेशी–९ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पोखराभञ्ज्याङ्गमा बिहीबार एक कार्यक्रमका बीच अतिविपन्न बालबालिकालाई छात्रवृत्ति र न्यानो कम्बल वितरण गरिएको छ।
कार्यक्रम संयुक्त राज्य अमेरिकामा बसोबास गरिरहेकी सुशील जयन्तीले आफ्नो २६ औं वैवाहिक उत्सवको अवसरमा आयोजना गरेकी थिइन्। उनले आफ्नो नाममा स्थापना गरिएको “सुशील चन्द र जयन्ती थापा छात्रवृत्ति अक्षयकोष” मार्फत पाँच जना असहाय, अतिविपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै १२ जना बालबालिकालाई न्यानो कम्बल वितरण गरिन्।
कार्यक्रममा लेकवेशी–९ का वडा अध्यक्ष मानबहादुर सोमैले मन र सेवाको महत्व झल्काउँदै उनले भने,`धन मात्रै भएर हुँदैन, मन भएमा सबै कुरा सम्भव हुन्छ। सुशील र जयन्ती थापाको यो सेवा प्रशंसायोग्य छ।`
लेकवेशी नगरपालिकाका नगर प्रमुख उमेश कुमार पौडेलले सुशील जयन्तीले विदेशी भूमिमा बसेर कमाएको रकम शिक्षाजस्तो क्षेत्रका लागि लगानी गर्नु ठूलो प्रेरणा भएको बताए । उनले डेढ लाखको अक्षयकोषबाट आएको ब्याजले विपन्न र जेहेन्दार विद्यार्थीलाई सहयोग गरेको र न्यानो कम्बल वितरणले बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे।
सुशील र जयन्ती थापाको निरन्तर योगदान
सुशील चन्द र जयन्ती थापाले २५ औं वैवाहिक उत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापनाका लागि १ लाख ५० हजार रुपैयाँ प्रदान गरेका थिए । उनीहरूले हालसम्म २७ बालबालिकाको अभिभावकत्व लिँदै उच्च शिक्षासम्मको जिम्मेवारी निर्वाह गरिरहेका छन्। ती बालबालिकामध्ये सुर्खेतका ११, रुकुमका ६, जाजरकोटका ४ र दैलेखका ६ जना छन्।
जयन्तीले केवल शिक्षामात्र नभई समाजका अन्य क्षेत्रमा समेत योगदान पुर्याउँदै आएकी छन्। कोरोना महामारी, भूकम्पलगायत विपद्को समयमा उनले महत्वपूर्ण सहयोग गरेकी छन्।
देशबाट टाढा भए पनि माटोसँगको सम्बन्ध झन् बलियो भएको महसुस गरेकाे जयन्ती बताउछिन् । यही सोचले समाजसेवाका कार्यमा निरन्तर सक्रिय छु,” जयन्तीले भनिन्।`
उक्त अवसरमा विद्यालयका बालबालिकाहरूले सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो उज्ज्वल भविष्यको कामना गरेका थिए ।
फाेटाेहरु
ए.के. सञ्चार । ११ माघ २०८१, शुक्रबार १२:४०