कर्णालीमा एचपीभी खोप अभियान सुरु हुँदै

सुर्खेत । कर्णाली प्रदेशमा यहीँ माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले मंगलबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अभियानको तयारीबारे जानकारी गराएको हो।

कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले एचपीभी भाइरसका कारण पाठेघरको मुखको क्यान्सर मात्र नभई यौनाङ्गमा आउने मुसा तथा अन्य क्यान्सरसमेत हुन सक्ने भएकाले १० देखि १४ वर्षसम्मका किशोरीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरे। उनले खोप सुरक्षित भएकाले कुनै भ्रममा नपर्न अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सञ्चारकर्मीलाई खोपको प्रचार–प्रसारमा सहयोग गर्न अनुरोध गरे।

प्रदेशस्तरीय अभियानलाई सफल बनाउन स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले स्थानीय तहका विद्यालय, स्वास्थ्य संस्थाका प्रमुख, वडा अध्यक्ष, गाउँ कार्यपालिकाका सदस्य तथा सञ्चारकर्मीहरूको सहयोग आवश्यक रहेको बताए। अभियानलाई प्रभावकारी बनाउन पालिकाका आधारभूत र माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूलाई समेत समन्वय गर्न आग्रह गरिएको छ।

नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एचपीभी खोपलाई प्राथमिकतामा राख्दै पहिलो चरणमा कास्की र चितवनमा अभियान सञ्चालन गरेको थियो। आगामी २०८१ माघदेखि देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ। राष्ट्रिय खोप कार्यक्रम सन् २०३४ बाट सुरु भई हाल १६ हजारभन्दा बढी खोप केन्द्रमार्फत १३ प्रकारका खोप वितरण हुँदै आएको छ।

नेपाल सरकारले खोप कार्यक्रमलाई बाल मृत्युदर घटाउने प्रमुख उपायका रूपमा अघि बढाएको छ। धनुषटंकार र दादुरा रुबेला रोग निवारण लागि प्रभावकारी खोप अभियान सञ्चालन भइरहेको छ। कर्णालीमा सञ्चालन हुने एचपीभी खोप अभियानले प्रदेशमा किशोरीहरूको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याउने स्वास्थ्यकर्मीहरूको विश्वास छ।