हेलिकप्टर अवतरणमा धुलोको आँधी, मन्त्री शाहको आगमनले मच्चायो भागाभाग

सुर्खेत । छेडागाड नगरपालिका–३, जनप्रिय माध्यमिक विद्यालयको आँगन। खेलकुदको माहोल। विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय अगुवाहरूको भीड। सबैको ध्यान केन्द्रमा थियो-पाँचौं मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता।

तर, सोमवारको त्यो बिहान खेलकुदको प्रतिस्पर्धाभन्दा अलग दृश्य देखियो। आकाशमा अचानक हेलिकप्टरको गर्जन सुनियो। स्थानीयहरूले माथि फर्केर हेर्न थाले। केही बेरमै हेलिकप्टर विद्यालयको खुला मैदानमा अवतरण गर्न लाग्यो। तर, समस्या सुरु भयो त्यहीँबाट।

हेलिकप्टर झर्नेबित्तिकै अत्यधिक धुलो उड्न थाल्यो। विद्यालयको खेलमैदानमै हेलिकप्टर ल्याण्ड गर्ने योजना थियो, तर धुलोको झरीले सबैलाई छोप्यो। विद्यार्थीहरू आँखा मिच्दै भागे, शिक्षकहरू मुख छोप्दै सुरक्षित ठाउँ खोज्न थाले। खेल हेर्न जम्मा भएका अभिभावकहरू समेत आत्तिए। कोही टाढा दौडिए, कोही झुकेर बस्न थाले।

विद्यालयका प्रधानाध्यापक जयबहादुर थापा भन्छन्,`हेलिकप्टर अवतरण गर्न खोज्दा यस्तो भयो कि हामी सबै धुलाम्य भयौं। विद्यार्थीहरू त स्कुलको पछाडि गएर जोगिनुपर्ने अवस्था आयो।`

विद्यालय व्यवस्थापनलाई मन्त्री शाहको हेलिकप्टर आउने कुनै जानकारी थिएन उनले भने बिहान ११ बजेतिर मात्र थाहा भयो मन्त्री शाह हेलिकप्टरबाट आउँदैछन् भन्ने उनी सडक मार्गबाट आउने कि हवाईमार्गबाट भन्ने अन्योलकै बीचमा विद्यालय मैदानमा हेलिकप्टर झार्न खोजियो, तर असम्भव बन्यो।`

अत्यधिक धुलोले गर्दा हेलिकप्टर जनप्रिय विद्यालयको मैदानमा अवतरण हुन सकेन। अन्ततः दोस्रो स्थान खोजियो र अर्को ठाउँमा हेलिकप्टर झारियो। मन्त्री शाह विद्यालय मैदानमा हेलिकप्टरबाट ओर्लन नसके पनि केहीबेरपछि कार्यक्रममा सहभागी भए।

नगर उपप्रमुख चन्द्रबहादुर थापाले जाजरकोटकै क्षेत्रकै माननीय भएकाले प्रमुख अतिथिका रूपमा बोलाएका जानकारी दिए ।

नगर उपप्रमुख थापाले भने,`मन्त्रीज्यू हाम्रै क्षेत्रका माननीय भएकाले प्रमुख अतिथिका रूपमा बोलाएका थियौं। भोलिपल्ट प्रदेश स्थापनादिवसका लागि सुर्खेत फर्किनुपर्ने भएकाले उहाँ आफ्नै खर्चमा हेलिकप्टरबाट आउनु भएको हो। बिहानकै समयमा हेलिकप्टरबाट आउने जानकारी गराउनु भएको थियो। सबैले विद्यालयको प्रांगणमै अवतरण गराउने भनेपछि त्यहीँ ल्याण्ड गर्न खोज्नु भयो। तर, अत्यधिक धुलोका कारण सम्भव भएन, त्यसपछि दोस्रो ठाउँमा अवतरण गराइयो।`

हेलिकप्टर ल्याण्ड गर्दा स्थानीयहरूलाई परेको असरबारे मन्त्री शाहलाई बुझ्न खोज्दा उनले फोन उठाएनन्।

धुलोले विद्यालय मात्र होइन, उपस्थित सबैलाई प्रभावित गर्यो। खेल हेर्न आएका स्थानीयहरू हतारहतार सुरक्षित ठाउँ खोज्दै भागे। केही समयपछि मैदानमा शान्ति फर्कियो, तर वातावरण भने धुलाम्य नै रह्यो।

सोमवारको त्यो बिहान विद्यार्थीहरूको लागि खेलकुदको प्रतिस्पर्धाभन्दा पनि हेलिकप्टरको धुलो र भागाभाग नै मुख्य घटना बन्यो।