सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा देशभरका नागरिकलाई शुभकामना दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्।
बुधबार दिवसको अवसरमा मुख्यमन्त्री कँडेलले प्रजातन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजनीतिक परिवर्तनका आन्दोलनमा योगदान दिने सबैप्रति सम्मान व्यक्त गरेका हुन्।
मुख्यमन्त्री कँडेलले १०४ वर्षे निरंकुश राणा शासन अन्त्य गर्दै विक्रम संवत् २००७ सालको क्रान्तिले नेपालमा प्रजातन्त्रको आधारशिला स्थापित गरेको उल्लेख गर्दै यस ऐतिहासिक संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्नु सबैको दायित्व रहेको बताए।
`राज्यशक्तिको स्रोत जनता हुन्, मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्षले स्थापित गरेको छ,`उनले भने।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले जनताको अपेक्षाअनुसार शासन व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
उनले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको संकल्प हासिल गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

ए.के. सञ्चार । ७ फाल्गुन २०८१, बुधबार ०८:२५