आज मेघ गर्जन,चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली थपसक्रिय हुदाँ हाल प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ।

यता धनकुटा मुलघाटस्थित तमोर नदीमा बाढीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीमा विहान ७ः३० बजेसम्म पानीको वहाव सात मिटर माथि पुगेको छ । महाशाखाले सप्तकोशी नदी चतरा, सुनकोसी, अरूण नदीमा पनि जलसतह बढ्दो रहेको जनाएको छ ।