सुर्खेत । नेकपा (एमाले) का नेता योगेश भट्टराईले गणतन्त्र फेल भयो भन्नेहरूको अभियानलाई निष्क्रिय बनाउन कांग्रेस र एमाले मिल्नुपर्ने बताएका छन्।
बुधबार सुर्खेतमा आयोजित महिला किसान संघ नेपाल, कर्णाली प्रदेश कमिटीको प्रथम सम्मेलनमा बोल्दै भट्टराईले गणतन्त्रलाई असफल देखाउने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्न कांग्रेस-एमालेको सहकार्य आवश्यक रहेको बताएका हुन्।
`राजावादीहरू चम्किँदैछन्, गणतन्त्र फेल भयो भनेर मौका मागिरहेका छन् उनले भने,`२५० वर्षसम्म मौका दिएकै हो। दरबार हत्याकाण्ड हामीले गरेको हो र? दरबार हत्याकाण्डकै कारण राजतन्त्र समाप्त भयो। अब त्यो संस्था फर्केर आएर देश चलाउन सक्छ भन्ने सम्भावना छैन।`
उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कटाक्ष गर्दै माओवादी ओरालो लाग्दै गएको दाबी गरे।
`प्रचण्डले किन हामीविरुद्ध आवाज उठाइरहनु भएको छ? किनकि हामीले उहाँको प्रधानमन्त्री पद खोस्यौं। उहाँ लुडो खेलेझैं हामीले जितेका कारण छटपटिनु भएको हो,` उनले भने।

उनले माओवादी नेतृत्वको सरकार बसिरहनु देशका लागि विनाशकारी भएको टिप्पणी गर्दै कांग्रेस-एमाले गठबन्धन नै देशको स्थायित्वका लागि उपयुक्त मोडेल भएको तर्क गरे।
`माओवादीले ६२-६३ पछि सबैभन्दा धेरै सरकार चलाएको छ, तर अहिले सडकमा छ। अर्थतन्त्र अगाडि बढेको छैन, विदेशी लगानी आएको छैन। यस्तो परिस्थितिमा कांग्रेस-एमाले मिल्नुपर्छ,` भट्टराईले भने।
उनले नेकपा (एकीकृत समाजवादी) को भविष्य नरहेको बताउँदै माधव नेपाल नेतृत्वको पार्टी लामो समय टिक्न नसक्ने टिप्पणी गरे।
`माधव नेपालको पार्टी अब चल्दैन भन्ने सबैलाई थाहा छ। उहाँले जहाँसम्म चलाउनुहुन्छ, चलाउन दिऔं, तर समाजवादी पार्टीको आयु धेरै लामो छैन,` भट्टराईले जिकिर गरे।
कर्णालीमा नेमकिपा अब सिद्धिँदै गएको छ, एमाले भने अझ बलियो हुँदै गएको छ। यो नै वामपन्थी एकताको सही मोडेल हो,` उनले भने।
एमालेले तीन महिने अभियान चलाइरहेको बताउँदै उनले अब कागजी कमिटी बनाउने प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए। `निर्वाचित भएपछि जनताका घर-घरमा पुग्नुपर्छ। जनताको गुनासो सुनेर पार्टीको संरचना सुधार गर्न आवश्यक छ,` भट्टराईले भने।

ए.के. सञ्चार । ७ फाल्गुन २०८१, बुधबार २३:०६