फुकोट आयोजनाबाट स्थानीयवासीले १० प्रतिशत शेयर पाउने

कालीकाेट । फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने भएको छ । सार्वजनिक सुनवाईका क्रममा आयोजनाले मङ्गलबार (हिजाे) उक्त घोषणा गरेको हो । 

रास्कोट नगरपालिका–९ भात्ततीमा ४२६ मेगावाट क्षमताको उक्त आयोजना ६ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसका लागि ६ सय मिटर सुरुङ निर्माण गरिने आयोजना प्रमुख हिराचन वाइबाले जानकारी दिए । माटोको अवस्था चट्टानलगायतका भौगर्भिक अध्ययन सकिएको वाइबाले बताए ।
“करिब १० हजार रुख कटान हुने अनुमान गरेका गरिएको उनकाे भनाइ छ । एउटा रुख बराबर १० रुख रोपण गरिने छ ।” आयोजना निर्माण गर्न रु ९२ अर्ब खर्च हुने आयोजनाका विज्ञ शिवशङ्कर कार्कीले जानकारी दिए ।

बाँध निर्माणबाट डुबानमा पर्ने सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोटमा प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया सकिएको छ ।

आयोजना निर्माणबाट एक हजार १४९ परिवार प्रभावित भएका छन् । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको आयोजना प्रमुख वाइबाले जानकारी दिए ।