समाचार लेख्न समाचार कक्षमै बस्नुपर्छ भन्ने छैन: अध्यक्ष शर्मा

सुर्खेत। सञ्चारिका समूह कर्णाली प्रदेशको तेस्रो अधिवेशनमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णप्रसाद शर्माले प्रविधिले दिएका चुनौतीलाई ध्यानमा राख्दै महासंघले विभिन्न तालिम सञ्चालन गर्ने बताएका छन्।

उनले प्रविधिको विकाससँगै पत्रकारिता अभ्यासमा नयाँ ढाँचा आएको उल्लेख गर्दै अब समाचार लेख्नका लागि समाचार कक्ष धाउन नपर्ने बताए।

अब पत्रकारितामा मोबाइलमै समाचार उत्पादन गर्न सकिने अवस्था आएको छ उनले भने,`प्रविधिसँगै तालमेल मिलाएर महिला पत्रकारहरू अझै क्षमतावान् बन्न आवश्यक छ।`

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले पत्रकारितामा आउने छाड्ने प्रवृत्तिलाई रोक्न आवश्यक रहेको बताए।

उनले पछिल्लो समय महिला पत्रकारहरू सक्रिय रूपमा काम गरिरहेकोमा खुसी व्यक्त गर्दै संस्थागत विकासका लागि निरन्तर लाग्नुपर्ने सुझाव दिए।

सञ्चारिका समूह कर्णाली प्रदेशकी संस्थापक अध्यक्ष टिका विष्टले अघिल्लो समयभन्दा अहिले महिला पत्रकारितामा उल्लेखनीय वृद्धि भएको बताइन्।

पहिलेभन्दा अहिले महिला पत्रकारको संख्यामा मात्र होइन, उनीहरूको सक्रियता र क्षमतामा पनि सुधार देखिएको छ उनले भनिन्,`तर, अझै धेरै गर्न बाँकी छ।`

प्रदेश अध्यक्ष सीता वलीले कर्णाली प्रदेश सभामा महिलाहरुकाे अर्थपूर्ण उपस्थित लगायतका बिषयमा खबरदारी गरेकाे बताइन्।

पत्रकार महिलाहरुकाे सुरक्षाकाे लागि १५ लाखकाे अक्ष्यकोष स्थापनाका लागि पहल गरेकाे बताएकी छन्।