काठमाडौं । अबदेखि सर्वसाधारण नागरिकहरूले वृद्ध भत्ता पाउन ७० वर्ष उमेर पूरा गर्नु पर्ने भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत वृद्ध भत्ता पाउने उमेर सीमा बढाउने घोषणा गरेको हो।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेट अनुसार, उच्चस्तरीय आर्थिक सुझाव आयोगको सिफारिसका आधारमा यो निर्णय गरिएको हो।
आयोगले सामाजिक सुरक्षा भत्तामा बढ्दो वित्तीय भारको सन्दर्भमा पाँच वर्षसम्म भत्ता नबढाउन र उमेर सीमा बढाउन सुझाव दिएको थियो।

यद्यपि, दुर्गम क्षेत्रका बासिन्दा तथा लक्षित वर्गमा पर्ने ज्येष्ठ नागरिकका लागि भने भत्ता पाउने उमेर ६० वर्षकै सीमा कायमै राखिएको छ।
सामाजिक सुरक्षा भत्ताको टिकाउपन र दीर्घकालीन वित्तीय व्यवस्थापनलाई ध्यानमा राख्दै सरकारले यो निर्णय लिएको बताइएको छ। यो विषयमा संसददेखि अदालतसम्म बहस भइरहेका बेला सरकारको निर्णयले थप छलफल चर्काउने देखिन्छ।









