सुर्खेत। संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत कर्णाली प्रदेशमा खानेपानी, सडक, ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ।

बिहीबार प्रस्तुत बजेट वक्तव्यमा प्रदेशका दीर्घकालीन आवश्यकता र सम्भावनालाई सम्बोधन गर्ने परियोजनाहरू समेटिएको छन्।
बजेटमा सुर्खेतको भेरी पम्पिङ खानेपानी आयोजनालाई दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित १ अर्ब ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्क्स र पावरहाउस निर्माणका लागि २ अर्ब ७ करोड रुपैयाँ छुट्याइएको छ।
खेलकुदको क्षेत्रलाई उस्तै प्राथमिकतासहित सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५४ करोड रुपैयाँको बजेट तय गरिएको छ।
ऊर्जा पूर्वाधार सुदृढ गर्न फुकोट कर्णाली र मुगु कर्णाली जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढाइनेछ। यस्तै, कोहलपुर–सुर्खेत–जुम्ला १३२ केभी प्रसारण लाइनलाई दुई वर्षभित्र सम्पन्न गरिने घोषणा गरिएको छ।
यातायात पूर्वाधार विस्तारतर्फ पनि बजेटले उल्लेखनीय योजना अघि सारेको छ। कर्णाली कोरिडोर अन्तर्गत हिल्सा–सिमकोट र खुलालु–पिलुचौर–तुम्च सडक स्तरोन्नतिका लागि १ अर्ब २७ करोड रुपैयाँ छुट्याइएको छ। यस्तै, सुर्खेत–खुलालु–कालिकोट–जुम्ला, सुर्खेत–महावुलेक–नाग्मा–गमगढी सडकहरूलाई पनि स्तरोन्नति गरिनेछ।
यसका अतिरिक्त, ताल्चा–रारा सडक कालोपत्रे, बबई–छिन्चु सुरुङमार्गको अगाडि बढाउने, रानीघाट–भुरिगाउँ र हात्तिसार–बबई सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने तयारी पनि बजेटमा समावेश गरिएको छ।
पर्यटन क्षेत्रको सम्भावना विस्तार गर्ने उद्देश्यले बर्दिया–रारा पर्यटकीय पदमार्ग, रारा विकास, तथा कर्णाली र भेरी नदीमा फिङ (बोट) पर्यटन प्रवर्द्धन गरिनेछ। यसका लागि आवश्यक बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ।

दैलेखको पेट्रोलियम अन्वेषण कार्य सम्पन्न गरी नमुना परीक्षणको प्रतिवेदनका आधारमा व्यावसायिक उत्पादन सुरु गरिनेछ, भन्ने सरकारले घोषणा गरेको छ। त्यस्तै, मध्य तथा उच्च पहाडी जिल्लामा उच्च मूल्यका बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ।
स्वास्थ्य र सामाजिक सुरक्षाको क्षेत्रमा अटिजम तथा बौद्धिक अपांगता भएका बालबालिकाहरूको पहिचान, उपचार र पुनर्स्थापना सेवा सुरु गरिनेछ।
सुर्खेतमा निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याइएको छ।
शिक्षा र हवाई सेवा विस्तारतर्फ सुर्खेत प्रादेशिक विमानस्थलको पूर्वतयारी सम्पन्न गरी निर्माणको थालनी गरिने जनाइएको छ।
यस्तै, जुम्लामा उच्च उचाइको खेलकुद स्टेडियम निर्माण गरिनेछ भने दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाहरूको निःशुल्क हवाई उद्धार सेवालाई यथावत राखिएको छ।
सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गसँग जोडिएका नयाँ शहरहरूको लागि छुट्टै बजेटको व्यवस्था समेत गरेको छ।
संघीय बजेटले कर्णाली प्रदेशको दीर्घकालीन पूर्वाधार विकासलाई नयाँ गतिको अपेक्षा दिलाएको छ।

              







