२०८२ असार ८ , आइतबार

रक्तदानमार्फत जीवन बचाउने कार्यमा नेपाल मानव धर्म सेवा समितिको सक्रियता



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल मानव धर्म सेवा समिति, क्षेत्र आश्रमले आयोजनामा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन्।

`रक्तदान जीवनदान, आत्मज्ञान अति महान सेवा गर्ने हाम्रो अभियान` भन्ने नारासहित आयोजित कार्यक्रमले कर्णाली जस्तो भौगोलिक विकटता र स्वास्थ्य संरचनाको पहुँच नपुगेको क्षेत्रमा रगतको महत्त्व झन् बढ्दो भएकाले रक्तदान सेवाले सहयोग पुग्ने आयाेजकले जानकारी जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि, कर्णाली प्रदेश सभा सदस्य कल्याणी खड्काले कर्णाली प्रदेशमा रगतको अभावका कारण धेरै गर्भवती महिलाहरूको ज्यान जोखिममा पर्ने गरेको उल्लेख गर्दै, रक्तदान जस्तो जीवनदायी कार्यमा सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्।

नेपाल मानव धर्म सेवा समितिका प्रदेश अध्यक्ष देवबहादुर पुलामीले रक्तदान कार्यक्रम केवल स्वास्थ्य सेवा मात्र नभई आत्मकल्याण र मानव सेवा पनि भएको बताए। `रगत आवश्यक पर्दा एक थोपा पनि जीवनरक्षक बन्न सक्छ,` पुलामीले भने,`त्यही सोचका साथ हामीले यो अभियानलाई निरन्तरता दिइरहेका छौँ।`

त्यस्तै, क्षेत्र प्रमुख महात्मा निगमा वाईजीले कर्णालीमा रगत अभावका कारण सुत्केरी महिलादेखि दुर्घटनामा परेका बिरामीसम्मको ज्यान जोखिममा पर्नु दुःखद विषय भएको भन्दै समुदायमा सचेतना फैलाउने कामसमेत समितिले गरिरहेको जानकारी दिइन्।

कार्यक्रममा सहभागी रक्तदाताहरूले नियमित रक्तदानले समाजमा सकारात्मक सन्देश फैलाउने र स्वास्थ्य लाभ पनि पुग्ने अनुभव सुनाए।

उक्त रक्तदान कार्यक्रमले कर्णाली प्रदेशमा सेवा, समर्पण र सद्भावको नयाँ उदाहरण प्रस्तुत गरेको आयोजकले बताएका छन्।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार