नवौं राष्ट्रिय खेलकुद हकी प्रतियोगिताका खेल मैदान तयार नहुँदा अनिश्चित

पाेखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बिहीबारबाट सुरु हुने भनिएको हकी प्रतियोगिता खेल मैदान तयार नहुँदा अनिश्चित बनेको छ । खेलका लागि खेलाडीहरु मैदान पुगिसकेका छन् ।

तर, मैदान मर्मत जारी रहेको छ । मैदानको घाँस काट्नुपर्ने, मार्किङ गर्नुपर्ने तथा खेल सामग्री नै नआइपुगेकाले खेल अनिश्चित बनेको नेपाल हकी संघले जनाएको छ ।

असोज २८ देखि औपचारिक रुपमा सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल सुरु भइसकेका छन् । जस अन्तर्गत महिला र पुरुष हक्की आजबाट सुरु हुँदैछ ।

हक्की खेल अन्तर्गत पुरुष हक्की गौरीशंकर खेल मैदान, हेम्जामा हुने तय भएको छ भने महिला हक्की गण्डकी बोर्डिङ लामाचौरमा बुधवार राति अबेरसम्म घाँस काटेर महिला हक्कीको लागि मैदान तयार भएपनि खेल सामाग्रीहरु अझै नपाएको हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए ।

उनले खेल सामाग्री जर्सी, किट लगायत खेलाडीहरुले नपाएको बताए । पुरुषको खेल हुने गौरीशंकर खेल मैदानमा अझै घाँस काट्ने काम जारी रहेको खड्काले जानकारी दिए । ११ बजे सुरु गर्ने भनिएको पुरुष हक्की मैदानको तयारी तथा अन्य व्यवस्थापन नहुँदा अनिश्चित बनेको उनले बताए ।

पुरुष हक्कीको मैदानमा घाँस काट्न बुधवार जम्मा पाँच जना खटिएका थिए। मेसिन बिना मान्छे खटाएर सफा गर्न लगाइँदा मैदान समयमै तयार हुन सकेन ।