२०८२ भदौ २८ , शनिबार

बँदेलको आतंकले किसान त्रसित




सल्यान । सल्यानमा बँदेलले मकै बाली सखाप पार्न थालेपछि सल्यानका किसानहरु चिन्तित बनेका छन् । रातिको समयमा बँदेलले मकैबारीमा छिरेर नष्ट गर्नथालेपछि किसानहरु चिन्तित बनेका हुन् ।

छत्रेश्वरी गाउँपालिका–२ को खोरबारे, रेखुहाले र वडा–५ महानेटा क्षेत्रमा भर्खर दुधेला भएका मकैबारी बँदेलले नष्ट गरेको किसानको गुनासो छ। महानेटाका घनबहादुर डाँगीले आफ्नो दुई बारी पूरै सखाप भएको बताए। त्यस्तै, खोरबारेमा मात्र ८ घरधुरीको करिब १० रोपनी मकै बँदेलले नष्ट गरेको स्थानीय रुद्रवीर दाहालले जानकारी दिए।

एउटा दुईटा होइन, ८–१० वटा बँदेल हुल बाँधेर बारीमा छिर्छन्। एकैछिनमा मकै सोत्तर पार्छन्,` कृषक खुमबहादुर खत्रीले भने।

जंगल छेउका बस्तीमा पछिल्ला वर्ष बाँदर, बँदेल र दुम्सीले निरन्तर बालीनालीमा क्षति पुर्‍याउँदै आएका छन्। “यो वर्ष पनि आधा मकै सकिसक्यो,`छत्रेश्वरी–२ का हेमराज खड्काले भने।

किसानले घरघरमा कुकुर पालेर, रातभर पालैपालो बारीमा बसेर कराइरहे पनि ठूलो बँदेल देख्दा कुकुर डराउने र बाली जोगाउन नसकिएको उनीहरूको भनाइ छ। रातभर सुताई छैन, कराउँदा कराउँदा डाको बस्छ। मुख्य बाली सखाप भएपछि परिवार पाल्ने चिन्ता छ, कृषक तिलक खड्काले दुःख पोखे।

सरकारले क्षतिको राहत दिने व्यवस्था गरे पनि किसानलाई प्रक्रिया झन्झटिलो भएको गुनासो छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी ललितजंग खड्काका अनुसार बँदेल वा बाँदरले क्षति गरेमा ३५ दिनभित्र निवेदन दिनुपर्ने र बढीमा दश हजार रुपैयाँसम्म मात्र राहत पाउने व्यवस्था छ।

सल्यानको मुख्य खाद्य सुरक्षाको आधार मकै भएकाले किसानलाई यो समस्या गम्भीर बन्दै गएको छ। `घरको काम छाडेर विहानदेखि बेलुकीसम्म बारीमै बस्न सकिन्न। जतिखेर आएर नोक्सान गर्छन् थाहै हुँदैन,` कपुरकोट–३ लामिडाँडाका किसान टेकबहादुर वलीले भने।

किसानले खेतबारीको घेरबारका लागि सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन्। राहतले मात्रै पुग्ने नसक्ने भएकाले समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउनुपर्ने उनीहरूको जोड छ।

डिभिजन वन कार्यालयले भने अहिले किसानलाई घेरबारका लागि कुनै कार्यक्रम नभएको स्पष्ट पार्दै, जनावर बस्ती वा खेतबारीमा पसेमा उद्धार र नियन्त्रण गर्ने मात्र काम भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ भदौ ९ गते सोमबार