२०८२ असोज २ , बिहीबार

फागुनमा हुने निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ : कँडेल




सुर्खेत । हालै सम्पन्न जेनजी युवाआन्दोलनले नेपालको राजनीतिक दिशाबारे गम्भीर बहस सुरु गरेको छ।

आन्दोलनले व्यवस्था विरोधी आवाजलाई मुखर बनाउनुका साथै पारदर्शिता, जवाफदेहीता र न्यायप्रतिको जनआकांक्षा सडकदेखि संसद् र अन्तर्राष्ट्रिय समुदायसम्म प्रतिध्वनित भएको छ।

तर, यस क्रममा सार्वजनिक तथा निजी सम्पत्ति जलाउने, तोडफोड गर्ने र लुटपाटजस्ता हिंसात्मक गतिविधि पनि भएको छ, जसले राज्यलाई गम्भीर चुनौती दिएको छ।

सुर्खेतका व्यवसायी तथा सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मण कँडेलका अनुसार, हिंसात्मक गतिविधिमा संलग्न समूह वा व्यक्तिहरूलाई तत्काल कानूनी कारबाही गर्नु राज्यको पहिलो दायित्व हाे ।

नागरिकहरूले देशमा कानून छ भन्ने अनुभूति गर्नुपर्छ, त्यतिबेलामात्र जनविश्वास पुनःस्थापित हुन्छ उनले भने,` आन्दोलनमा ज्यान गुमाएका ५१ जनालाई सहिद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति र सामाजिक सुरक्षा उपलब्ध गराउनु राज्यको न्यूनतम जिम्मेवारी हो।`

त्यस्तै, आगलागी र तोडफोडमा क्षति व्यहोरेका व्यक्तिहरूलाई राहत प्याकेजमार्फत पुनःउत्थान गर्नुपर्ने उनको धारणा छ।

कँडेलले राजनीतिक दलहरूमाथि पनि आत्मपरीक्षणको आवश्यकता औंल्याए। उनका अनुसार, नेपाली कांग्रेस, एमाले, माओवादीलगायत दलहरूले अनुशासन, पारदर्शिता र जवाफदेहीतामा आधारित नेतृत्व अघि ल्याउनुपर्ने बताएका छन।

पुराना असफल अभ्यासलाई विस्थापित गर्दै कर्मयोगी, निष्ठावान र जनताप्रति उत्तरदायी व्यक्तित्वहरूलाई अघि ल्याउन जरुरी रहेकाेमा उनले जोड दिए।

उनले दलहरूलाई आन्तरिक लोकतन्त्र, वित्तीय पारदर्शिता र युवाप्रति संवेदनशील नीतिहरूलाई तत्काल प्राथमिकतामा राख्न आग्रह गरे।

जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको भन्दै कँडेलले मानवअधिकार निकायहरूको निष्पक्ष छानबिन र न्यायको मागलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गरे। उनले भने,`नेपालको छवि विश्वसामु सकारात्मक राख्न राज्य र दलहरू दुवै जिम्मेवार छन ।

अन्तरिम सरकारले आगामी फागुनमा निर्वाचन गर्ने घोषणा गरेको सन्दर्भमा उनले यसलाई ऐतिहासिक अवसरको रूपमा लिनुपर्ने बताए।

उनका अनुसार, सबै दल, नागरिक समाज र राज्य संयन्त्रले मिलेर यसलाई निष्पक्ष, पारदर्शी र सर्वमान्य बनाउन सके मात्र दीर्घकालीन राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको ढोका खुल्नेछ।

युवाआन्दोलनले दिएको सन्देश स्पष्ट छ देशमा अब ढिलाइ गर्ने ठाउँ छैन उनले भने,`न्याय, पारदर्शिता र जनताप्रति उत्तरदायी शासनको मागलाई आत्मसात् गर्नैपर्छ ।`

उनका अनुसार, हिंसामा संलग्नमाथि कारबाही, पीडितलाई क्षतिपूर्ति, सहिदलाई सम्मान, दलभित्र सुधार र अन्तरिम सरकारको सफल निर्वाचन नै नेपालको स्थायित्व र प्रगतिका आधारभूत स्तम्भ हुन्।

जनताले फेरि पनि जनतामार्फत छानिएका, अनुशासित र सेवाभावी नेतृत्व चाहेकाे उनले बताए । यही बाटो नेपालको स्थायित्व र समृद्धिको सर्वोत्तम विकल्प रहेकाे उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहीबार