स्थानीयको अवरोधले विमानस्थल विस्तार कार्य अन्योलमा, एक अर्ब बजेट फ्रिज

सुर्खेत । कर्णाली प्रदेश सरकारको गौरवको आयोजनामध्ये सुर्खेत विमानस्थल विस्तार कार्य पनि एक हो। सरकारले यो आयोजनालाई चालु आर्थिक वर्षमै सुरुआत गर्न चाहन्थ्यो । यही आयोजनाका लागि प्रदेशले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट समेत छुट्याएका थिए ।

सुर्खेत विमानस्थल । तस्वीर सुशील खड्का
तर, स्थानीयवासीको अवरोधका कारण चालु आर्थिक वर्षमै योजना सुरु गर्ने सरकारको योजना असफल भएको छ । स्थानीयको अवरोधकै कारण आयोजनाको एक अर्ब एक करोड बजेट समेत फ्रिज गएको छ ।

‘विमानस्थल विस्तारका लागि बारम्बार प्रयास गरियो तर स्थानीय नागरिकले सहमति नदिएपछि आयोजनाको लागि छुट्याइएको एक रुपैयाँ पनि खर्च नभई सबै फ्रिज गएको नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले बताए । उनका अनुसार आगामी आर्थिक वर्षमा पनि आयोजना सुरु हुनेमा अन्योलता बढेको छ। सोही कारण आगामी आर्थिक वर्षमा प्रदेश सरकारले विमानस्थलका लागि बजेट विनियोजन गरेको छैन।

संघीय सरकारले भरतपुर र सुर्खेत विमानस्थलका लागि साढे एक अर्ब बजेट मात्रै छुट्याएको छ। तर सुर्खेत विमानस्थलका लागि छुट्याइएको रकम यकीन छैन। विवादित आयोजना भएका कारण सुर्खेत विमानस्थल विस्तार आयोजनाले बजेट पाउने सम्भावना कम छ।

तर, नागरिक उड्ड्यन कार्यालय सुर्खेतले भने नयाँ आर्थिक वर्षदेखि आयोजना सुरु हुने जनाएको छ। यो वर्ष सुरुआत हुन नसके पनि आउँदो आर्थिक वर्षमा आयोजना अगाडि बढ्ने कार्यालय प्रमुख पन्थीले बताए । उनका अनुसार केन्द्र सरकारले बजेट छुट्याइसकेको छ । भने विस्तार कार्यमा स्थानीयले सहयोग गरे नयाँ आर्थिक वर्षमा विमानस्थल विस्तार हुनेछ । कर्णालीको आवश्यकताअनुसार विमानस्थल विस्तारमा नागरिकले सहयोग गर्नुपर्ने उनको तर्क छ।

यता कर्णाली प्रदेश सरकारले पनि विमानस्थल विस्तार कार्यलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिने जनाएको छ। सरकारका प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले भनिन्, ‘कोरोना महामारी र स्थानीयको अवरोधका कारण चालु आर्थिक वर्षमा आयोजना अगाडि बढेन । अब ‘स्थानीयको माग सम्बोधन गरेर विमानस्थल विस्तार गर्छौं।’

स्थानीयका माग सम्बोधन गरेर आयोजना अगाडि बढाउने प्रदेश सरकारको तयारी छ । सरकार स्थानीयका मागलाई सम्बोधन गर्न तयार रहेको मनत्री नेपालीले बताइन् । ‘सहमतिकै आधारमा आउँदो आर्थिक वर्षदेखि विमानस्थल विस्तार हुनेछ । विमानस्थल विस्तार गर्ने योजना आएपछि विमानस्थल विस्तारको पक्ष र विपक्षमा बहस नै भएको थियो। यता सुरुमा आयोजना सञ्चालनमा सहयोग गर्ने जनाएको वीरेन्द्रनगर नगरपालिका अहिले विमानस्थल विस्तारको विपक्षमा उभिसकेको छ।

स्थानीयले कुनै पनि हालतमा विमानस्थल विस्तार हुन नदिने अडान राख्दै आएका छन्। यही विवादका कारण चालु आर्थिक वर्षमा सुर्खेत विमानस्थल विस्तारको आयोजना असफल भएको हो। नयाँ नक्साङ्कन बनेपछि प्रदेश सरकारले प्रभावित क्षेत्रका नागरिकसँग पुगेर सहमति लिनुपर्ने, प्रभावित क्षेत्रका नागरिकको पुनर्स्थापना, विद्यालयको व्यवस्थापन र सम्पूर्ण संरचनाहरुको पुनर्स्थापनाको ग्यारेन्टी सरकारले लिनुपर्ने स्थानीयवासीको माग छ।