मुस्लिम धर्मावलम्बीको बकर इद पर्व मनाइँदै

काठमाडौं । मुस्लिम धर्मावलम्बीले आज बकर इद पर्व मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुल फित्र पछिको दोस्रो ठूलो चाड हो ।

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौं दिन मनाउने गरिन्छ ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । तर कोरोना भाइरस संक्रमणको जोखिम भएकाले यसपटक पनि घरमै बसेर नमाज पढ्न आग्रह गरिएको छ । नमाज पढिसकेपछि धर्मले जायज मानेका जनावरलाई कुर्बानी अर्थात बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ ।

कुर्बानीको मासु तीन भागमा वितरण गरिन्छ । एक भाग गरिव एवं विपन्न परिवारलाई, एक भाग आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले राख्ने परम्परा रहि आएको छ । बकर इदकै उपलक्ष्यमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

यसैबीच इदको उपलक्षमा राष्ट्रपति, विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्धी शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।