विश्व बसोबास दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ । आज विश्व बसोबास दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा ‘तीव्र सहरी क्रियाकलापको लक्ष्य: कार्बनरहित विश्व’ भन्ने तय गरिएको छ ।

यो नाराले सहरले बनोट, भवन तथा पूर्वाधार निर्माण, सवारी व्यवस्थापन, हरियाली क्षेत्र व्यवस्थापन आदि क्रियाकलाप गर्दा दिगो सहरीकरण तथा दिगो विकास लक्ष्यलाई ध्यानमा राखेर न्यून कार्बन उत्सर्जन गर्ने गरी वातावरणमैत्री विकास गर्नुपर्नेमा जोड दिएको छ ।

वातावरणमैत्री सहरी विकास निर्माणमा तीनै तहका सरकारको ध्यान जानुपर्ने विज्ञले बताउँदै आएका छन् । सहरीकरणका कारण वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्दा विश्व तापमान एक तिहाइभन्दा धेरै भएको पाइएको छ ।