साइबर अपराध मुद्दामा पत्रकार सन्तोष देउजाले पाए सफाइ

वीरगञ्ज । साइबर अपराध मुद्दामा पत्रकार सन्तोष देउजाले सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतले साइबर अपराध मुद्दामा उनलाई मंगलबार सफाइ दिएको हो ।

न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले आफूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको देउजाले जानकारी दिए । देउजाको तर्फबाट अधिवक्ता स्वागत नेपालले बहस गरेका थिए ।

देउजा कपुरबोट मिडिया प्रालिद्वारा सञ्चालित कपुरबोट युट्युब च्यानलका प्रबन्ध निर्देशक समेत हुन् । देउजाले डा. नीलमकुमारी साह र डा. राजेशकुमार साह दम्पतीको झगडाको विषयमा युट्युब च्यानलमा अन्तर्वार्ता प्रसारण गरेका थिए ।

अन्तर्वार्ताको विषयमा असन्तुष्टि जनाउँदै डा. नीलम र उनका बुवा निरञ्जनप्रसाद साहले देउजाविरुद्ध मुद्दा दायर गरेका थिए । हिरासत नबसी लुकेर बसेका देउजाले २०७६ कात्तिक १४ गते अदालत पुगेर २५ हजार रुपैयाँ धरौटी बुझाएका थिए ।