सुर्खेत । कोरोना संक्रमणका कारण बन्द भएका सुर्खेतका नीजी तथा सामुदायिक विद्यालयहरु आउने सातादेखि खुल्ने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको विहीवार बसेको बैठकले स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी आगामी सातादेखि खुलाउने निर्णय गरेको हो ।
विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरिनेछ । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ग्रीन जोनमा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिने भए पनि वीरेन्द्रनगर नगरपालिका रेड जोनमा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सम्भवतः आगामी सातादेखि सुर्खेतका सवै सामुदायिक र संस्थागत विद्यालयहरु खुल्ने बताए । उनले स्वास्थ्य संक्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याव्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने जानकारी दिए । दुई-तीन दिनभित्र मापदण्ड निर्माण गरिने प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उनको भनाइ छ ।
मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । जसमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याव्सन, एनप्याव्सन, शिक्षक महासंघ र शिक्षक अभिभावक संघ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ ।
विद्यालयहरु खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको छ । पंचपुरी, लेकबेसी नगरपालिका साथै सिम्ता, चिंगाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना संक्रमण न्यून भएकोले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले स्मार्ट लकडाउन कार्यविधिमा ६५ अंकभार भन्दा माथि कोभिड संक्रमण भएमा रेडजोनमा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख भएको बताए । वीरेन्द्रनगरको अंकभार ६६ छ । यस्तै भेरीगंगा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अंकभारका लागि दिइएका सूचकहरुमा दुई हप्तामा कोभिड नयाँ संक्रमणको बृद्धि दर, मृत्यु दर, वेड क्षमतालगायत रहेका छन् ।
ए.के. सञ्चार । १८ भाद्र २०७८, शुक्रबार १८:२३