साफ च्याम्पियनसिप : बंगलादेशलाई माल्दिभ्सले हरायो

काठमाडौं : साफ च्याम्पियनसिप फुटबलमा घरेलु टोली माल्दिभ्सले पहिलो जित निकालेको छ।​ मालेस्थित राष्ट्रिय स्टेडियममा बिहीबार राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले एक एक गोल गरे। खेलको ५५ औं मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए।

यस जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ। माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो। बंगलादेशको यो पहिलो हार हो। यस अघि बंगलादेशले एक जित र एक बराबरीको नतिजा निकालेको थियो। बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।

हिजै भएको अर्को खेलमा भारत र श्रीलंकाले गोलरहित बराबरी खेले। भारतले दुई खेलमा दुई अंक जोडेकाे छ। माल्दिभ्सको जितसँग साफमा अबको समीकरण रोमाञ्चक बनेको छ। नेपाल, बंगलादेश, माल्दिभ्स र भारतमध्ये दुई टोलीले फाइनलमा उपाधिका लागि खेल्नेछन्।

नेपाललाई अब दुवै खेल बराबरी गरेमात्र पनि पुग्छ। तर, पराजित भएको अवस्थामा नेपालको यात्रा पनि कठिन बन्न सक्छ। यस संस्करणमा पाँच टोलीले मात्र सहभागिता जनाएका छन्। राउन्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन्।